सातै देशका प्रधानमन्त्री नेपाल आउने सम्भावना

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

आइतबारदेखि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सहभागी हुन् सदस्य मुलुकका प्रधानन्त्रीसमेत नेपाल आउने भएका छन्।सागको अन्तिम तयारीमा जुटिरहँदा भुटानका प्रधानमन्त्री लोटे छिरिङ र बंगलादेशका प्रधानमन्त्री शेख हसिना नेपाल आउने राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले जनाएको छ। प्रतियोगितामा सहभागी हुन सातवटै मुलुकका खेलकुदमन्त्री र सचिव नेपाल आउने बताइएको छ।

परिषद्का सदस्य–सचिव रमेश सिलवालले भुटान र बंगलादेशका प्रधानमन्त्री नेपाल आउने लगभग पक्का भएको जानकारी दिँदै भन्नुभयो– ‘सबै देशका प्रधानमन्त्री र राष्ट्रपतिसहित सम्बन्धित मन्त्रालयका मन्त्रीलाई निमन्त्रणा दिएका थियौं, तीमध्ये भुटान र बंगलादेशका प्रधानमन्त्री उपस्थित हुने प्रायः निश्चित भइसकेको छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालमा उद्घाटन गर्नुहुने साग प्रतियोगितामा अन्य देशका प्रधानमन्त्रीको समेत उपस्थिति हुने सम्भावना छ। खेलकुदमा सबैभन्दा बढी पदक ल्याउने मुलुकका राष्ट्रपतिसमेत नेपाल आउने सम्भावना भएको सदस्य–सचिव सिलवालले जानकारी दिनुभयो।

त्यसको लागि सुरक्षा निकायले आवश्यक तयारी थालेको छ। सुरक्षा निकायले सागको आवश्यक तयारी गरिरहेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सुरक्षाको सम्पूर्ण तयारी भईसकेको बताउँदै कुन देशका कस्ता–कस्ता भीआईपी आउने भन्नेबारे भने आफूलाई जानकारी नआएको प्रतिक्रिया दिनुभयो।

प्रहरीले खेलाडी, विभिन्न देशका प्रधानमन्त्री, मन्त्री र उच्च अधिकारीहरू बस्ने होटलको सुरक्षा व्यवस्था गरिसकेको छ। भीआईपीको सुरक्षाको व्यवस्था गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले करिब ७ सय ५० जना ट्राफिक प्रहरी परिचालन गर्ने जनाएको छ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले खेलाडी, अफिसियल, सार्क मुलुकका अन्य भीआईपीको सवारी सञ्चालन गर्ने विषयमा तयारी भइसकेको जानकारी दिनुभयो।दशरथ रंगशाला, खेलाडी बस्ने होटल, खेल आयोजना हुने स्थल, विभिन्न रुटलगायत सबै स्थानको सवारी व्यवस्थापन तयारी भइसकेको उहाँको भनाइ थियो।

‘भीआईपी आउँदा कहाँ र कुन बाटो प्रयोग गर्ने भन्नेसमेतको योजना तयारी गरिसकेका छौं’ –प्रहरी वरिष्ठ उपरीक्षक ढकालले भन्नुभयो। सार्क मुलुकमध्ये केही मुलुकका राष्ट्रपतिको समेत उपस्थिति हुने भएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटल, राष्ट्रपति कार्यालयसम्मको बाटो सफाइ शुरू गरेको छ।

सरकारले ती स्थानमा बिग्रिएका बाटोमा रातारात पिच गरिरहेको छ। सार्क राष्ट्रको सबैभन्दा भव्य प्रतियोगिताको रूपमा रहेको सागको सबै तयारी पूरा भइसकेको राखेपले जनाएको छ।

यस्तै काठमाडांै महानगरपालिकाले भीआईपी र खेलाडी अवागमन गर्ने मुख्य सडक सिंगार्न शुरू गरेको छ।कामपाले विमानस्थलदेखि त्रिपुरेश्वर हँुदै सोल्टी र त्रिपुरेश्वरदेखि राष्ट्रपति कार्यालय शीतल निवाससम्म गेट बनाउन शुरू गरेको छ।

कामपा प्रहरी प्रमुख धनपति सापकोटाले सदस्य राष्ट्रका प्रमुखसम्मको उपस्थिति हुने भएपछि विशेष तयारी गरिरहेको जानकारी दिँदै भन्नुभयो– ‘तीनकुने पार्कलाई सुन्दर बनाउने, आइल्यान्डलाई व्यवस्थित गर्ने, विभिन्न स्थानमा गमला र होर्डिङ बोर्ड राख्ने, सडकमा ब्रुमर चलाउने, सडक र रुख बिरुवा पखाल्ने, फोहोरलाई उठाउने जस्ता कामहरू भइरहेका छन्।’