मौरी व्यवसायी संकटमा

0
Shares

किरन धामी, दार्चुला।

बाह्रै महिना फूल नफूल्नाले दार्चुलाका मौरी व्यवसायी संकटमा परेका छन्। मौरीको चरन क्षेत्रका रूपमा लिइने फूल सँधै नफूल्नाले मौरी पालनमा समस्या सिर्जना भएको लेकम गाउँपालिक– १ सेजालीका मौरीपालक गणेशसिंह कार्कीले बताउनुभएको छ।

फूलको अभावले मौरीपालन व्यवसाय सोचे जतिको फस्टाउन नसकेको उहाँको गुनासो छ। ‘बाह्रै महिना फूल फूल्ने भए मौरी पालनमा सहजता हुन्थ्यो उहाँले भन्नुभयो।’ फूल नफूलेकै कारण मौरीले मह लगाउन समेत छोडेको उहाले बताउनुभयो।

‘कहिले काही सिजन अनुसारका फूल फूल्नाले मौरी पालनमा केहि सहजता हुन्छ, बाकी दिनहरुमा चिनी खुवाएर मौरी पाल्नु पर्ने बाध्यता छ, मौरी पालक कार्कीले भन्नुभयो।’ मौरी पालन तथा मह उत्पादनका लागी रिठा, चिउरी, तोरी, ऐर, पैयँ, बासिन्दाका फूलहरू उपयुक्त हुने उहाँले बताउनुभयो।

मौरी पालक कार्कीले भुमिराज मौरीपालन उद्योग दर्ता गरी विगत १५ वर्ष देखी मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ।ग्रामिण वातावरण तथा उद्यम विकास समाज नेपाल (रिड्स) बाट मौरी पालन तालिम लिएका कार्कीले अहिले १ सय घार मौरी पालन गरिरहेका छन्।

विगतका वर्षमा १ सय ८० वटा मौरी घार रहेकोमा अहिले १ सय घारमात्रै रहेको उहाँले बताउनुभयो। अरिंगाल, कालो कमिला र मैन पुतलीबाट मौरीलाई बचाउन बेल–बेलामा समस्या आइरहने उहाँको भनाई छ। अरिंगालको भेरो नै आएर मौरीलाई खाइदिने गरेको कार्कीको भनाई छ।

एक सिजनमा १ घारबाट ७ किलोग्राम मह काट्ने कार्कीले १ सय घारबाट ७ क्वीन्टल मह जम्मा गर्ने गर्दछन्। मौरी पालक कार्कीले मह बिक्रीगरेर एक वर्षमा ७ लाख रुपियाँ आम्दानी गर्दै आएका छन्। मौरी पालक कार्कीले मह मात्रै नभएर मौरीसहितको घारसमेत बिक्रीगर्ने गरेका छन्।

मौरीसहितको १ घारको ८ हजार रुपियाँमा बिक्री गर्दै आएका छन्। सेरना जातको मौरी पालन गर्नु भएका कार्कीको घरमै ग्राहाक आएर मह खरिद गर्ने गरेका छन्।
मौरी पालक कार्कीलाई बजारको खासै समस्या नभए पनि मौरी पालनमा भने केहि समस्या छन्।

चरन अभाव (बाह्रै महिना फूल नफूल्नु) अरिंगालबाट बचाउनु मौरी पालनका समस्या हुन्। ८ जनाको संख्यामा रहेको परिवारको घर खर्च देखी लिएर सबै किसिमको खर्च मह बिक्री गरेरै धान्न सकिएको उहाँले बताउनुभयो।

मौरीको चरनक्षेत्र अभावले विगतको भन्दा मह उत्पादनमा कमी आएको उहाँले बताउनु भएको छ। विगतका वर्षमा १२ देखी १५ क्वीन्टलसम्म मह उत्पादन हुने गरेकोमा यसवर्ष भने मह उत्पादनमा निकै कमी आएको उहाँको भनाई छ। मौरी पालक कार्कीलाई सरकारीस्तरबाट भने कुनै सहयोग प्राप्त भएको छैन्।