भूमिहीनको सकसपूर्ण जिन्दगी

0
Shares

सलिम अन्सारी, प्युठान।

सानो झुपडी, टिनको छानो, बाँसका खाबामा वरिपरि प्लास्टिकले बेरिएको छ। फाँटेका कपडा, न गुन्द्री छ न त चकटी। टिनको छानाभित्र भाँडाकुँडा असरल्ल छरिएका थिए ।

अन्नका नाममा ४ माना चामल, झुत्रे कपडाबाहेक अरू केही थिएन्। मलिन अनुहार लगाएर बसिरहेकी थिइन बृद्ध। अगेनामा बेलुकाको बासी काठेको साग, खोले र भात थियो। छोराहरू कसौंडीमा रहेको बासी भात खाँदै थिए।

विहानको झिमरुकको सिरेटोले हानेर होला उनीहरू लगलगी कापिरहेका देखिन्थे। मुटु छुने जाडो छ। ओढ्ने–ओछ्याउने छैन। भूइँ पनि चिसै छ, छानोबाट पनि शीत खस्छ, भित्ताबाट पनि सिरेटो छिर्छ। त्यो झुपडीमा चरम गरिबी झल्कन्थ्यो । उसो त, छाप्रोमै बिते उनीहरूका धेरै हिउँद र वर्षाहरू ।

अहिले पनि यहीं छाप्रोमुनी पीडाको दैनिकी काटिरहेको छ ५० वर्षिय रवीन्द्र राउतको परिवार। झुपडीभन्दा केही तल झिमरुकमा पानी बगिरहेकै छ, उतपरिवारका आँखामा आँसु। सासुआमा, श्रीमान्, श्रीमती, दुई छोरा र एक छोरीसहित ६ जनाको परिवार यहीं झुपडीमा ओत लागिरहेका छन।

उनीहरूको नाममा न जग्गा जमीन छ, न बस्ने घर । सम्पत्तिको नाउँमा केही छैन, छ त केबल, यहि सार्वजनिक जग्गामा टिनले छाएको झुपडी। राउतका ७ वर्षकी छोरी, ११ र ६ वर्षका दुई छोरा छन्। सासुआमा समेत विचल्लीमा परेपछि हाल उनीसँगै झुपडीमा बस्छिन्। झुपडीमा उनिहरू अटि नअटी बस्छन्।

श्रीमती तिला राउत विहानको झुल्के घामसँगै अर्काको काम गर्न जाँन्छिन्। झमक्क परेपछी बल्ल छाप्रोमा पाईला टेक्छिन्। गाउँमा जे काम भेटिन्छ त्यही काम गर्छिन्। साँझ फर्केपछि बल्ल झुपडीको चुल्हो बल्छ, भाँडामा केही खानेकुरा पाक्छ। तिलाले मजदुरी नगरे मुखमा माड लाग्दैन, यिनैको भरमा ६ जनाको जहान धानिएको छ।

रवीन्द्र बिरामी छन, काम गर्न सक्दैन्न, दिनभर छोराछोरी आँगनमा खेल्छन,छोराछोरीको कुरुवा बस्छन उनै रवीन्द्र। शरीर ठिहिराउने चिसो छ,गतिलो कपडा छैन।

‘दिन जसोतसो बितेपनि रात काट्नै मुस्किल छ’ – तिला भन्छिन,‘चिसोले रातभर केटाकेटी रुन्छन,मन धर्किन्छ, अरू केही उपाए छैन’ ‘न्यानो एकसरो कपडा पनि छैन तिला भन्छिन, चारैतिर उदाङ्गो छाप्रोभित्र छिरेको हावा र छानाबाट झरेको शीतले निद्रासमेत बिथोल्ने उनी बताउँछिन्। स्थानीय सरकारले पनि नहेरेको उनीहरू गुनासो पोख्छन।

साहुको ऋण तिर्न नसक्दा सुकुम्बासी

जिल्लाको ऐरावती गाउँपालिका–२ बरौला हरियाटारीमा बस्थ्यो राउत परिवार। खुमबहादुर भनेर चिनिन्छन रवीन्द्र, उनी सानै छँँदा हजुरबुबाले साहुसंँग ऋृण लिए। त्यो ऋृण तिर्न रवीन्द्रले सकेन्न। अनि त्यही ऋण तिर्न नसक्दा सबै जग्गा छिमेकी साहुले हडप्यो। सम्पतिविहीन बन्यो राउत परिवार।

‘हजुरबुबाले ऋण तिर्न नसक्दा हामी सुकुम्वासी भयौं’,– ५० वर्षीया राउतले भने, ‘जीवनभर सडकमै बास हुनेभयो।’ जति काम गरेपनि गाँस जुटाउनै धौधौ हुने गरेको उनको दुःखेसो छ।

‘सम्पत्ति जोर्ने कुरा त धेरै टाढाको कुरा’। राउतले आमा बुबासँगै गाउँ छाडेको वर्षौ वितिसक्यो।राउतका सातवर्ष अघि बुवा–आमाको निधन भयो। उनीहरूको घरवार जे भनेपनि सडककै बास हो।

‘हामी त सुकुम्बासी भयौ’ –राउतले भने,‘न टेक्ने जमिन छ, न ओत्ने बाँस,’ ‘साहुले उठिबास लगायो’ –राउत भन्छन।३ दशक देखि उनीहरू भूमीहीन भएर बाँचेका छन्।‘छाप्रोमा बस्दै आएका छौं, जग्गा जमिन केहि छैन,’– राउतले सुनाए।