मेयरकै आदेशमा वनैभरि स्काभेटर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

ललितपुरको लेले, नल्लुखोला, देवीचौरका सामुदायिक वन, पाखाभरि केही दिनदेखि अवैधरूपमा उत्खनन गर्ने क्रम बढ्दो छ। वन र पाखाभरि ढुंगा उत्खनन गर्न भारी उपकरण स्काभेटरको प्रयोग दिन प्रतिदिन बढिरहेको हो।

जिल्लास्तरीय अनुगमन समितिले अनुगमन गरेको भोलिपल्टै वनभरि स्काभेटर चढ्न थालेको स्थानीय बताउँछन्। नल्लुखोलामा मात्रै ३५ भन्दा बढी स्काभेटरले वनपाखामा ढुंगा उत्खनन गरिरहेका छन्।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित जिल्लास्तरीय सुरक्षा प्रमुखलगायतको टोलीले लेले, नल्लुखोला र देवीचौरमा सञ्चालित ढुंगाखानीको अनुगमन गरेको थियो।

अनुगमनसँगै गोदावरी नगरपालिकाको एक पत्रको आधारमा वनको दोहन हुने क्रम बढ्दो रहेको स्थानीय बताउँछन्। ‘जहाँ त्यहीं वन र सार्वजनिक जग्गा देखिन्छ। यस्तो अवस्थामा खानी सञ्चालनका लागि नगरले कसरी भन्न सक्छ होला। अचम्मै लागिरहेको छ।’ –नल्लु खोलाका एक स्थानीयले बताए।

 

अनुगमनको केही दिनपछि नगरप्रमुख महर्जनले एक व्यवसायीको ढुंगाखानी सञ्चालनमा सहयोग गरिदिन जिल्ला वन कार्यालयलाई सम्बोधन गरेर पत्र पठाउनुभएको थियो। उक्त पत्र देखाउँदै अन्यले पनि वनमा स्काभेटरको प्रयोग गरी ढुंगा उत्खनन कार्य गरिरहेको स्थानीय बताउँछन्।

मंसिर १ गतेको उक्त पत्रमा ‘वीरेन्द्र महर्जन ढुंगाखानीले यस नगरपालिकालाई बुझाउनुपर्ने व्यवसाय दर्ता इजाजत नवीकरण शुल्क मिति २०७६/०६/०१ गते बुझाउनुभएकाले निजलाई आव २०७७ असार मसान्तसम्म ढुंगाखानी सञ्चालन गर्न अनुमति प्रदान गरिएको हुँदा ढुंगाखानी सञ्चालनमा सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ’ भन्ने व्यहोरा उल्लेख छ।

यस पत्रमा नगरप्रमुख आफैंले हस्ताक्षर गर्नुभएको छ। यस विषयमा नगर प्रमुख महर्जनले खानी सञ्चालनका लागि पेस भएको कागजातका आधारमा व्यवसाय नवीकरण शुल्क मात्रै लिइएको दाबी गर्नुभयो।

उहाँले खानीको डकुमेन्टको आधारमा व्यवसाय नवीकरण मात्रै गरेको बताउनुभयो।नगरप्रमुखकै हस्ताक्षरमा खानी सञ्चालनमा सहयोग गर्न भन्दै पत्र प्राप्त भएपछि आफूहरू अचम्ममा परेको डिभिजन वन कार्यालय ललितपुरका वन अधिकृतहरूले बताएका छन्।

उक्त पत्र कार्यालयमा आएको पुष्टि गर्दै एक अधिकृतले भने–‘ढुंगा खानी सञ्चालनमा सहयोग गर्न भन्दै मेयरसापकै हस्ताक्षर भएको पत्र आयो। हामी अचम्ममै छौँ। वनको सीमा विवाद नटुंगिएसम्म उक्त पत्रको कार्यान्वयन हुन्न।’

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले नगरपालिकाभरी सञ्चालनमा रहेका कुनै पनि ढुंगा खानीको इजाजत भएको थाहा नभएको बताउनुभयो।‘अहिलेसम्म नगरभरी ढुंगा खानीका लागि इजाजत छैन। मेयरसापले पत्र कसरी काट्नुभयो। त्यो उहाँलाई नै थाहा होला’–उहाँले भन्नुभयो।