ट्रिपर दुर्घटनामा तीनको मृत्यु

0
Shares

हुम्ला, (नेस)।

हुम्लामा नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं ट्रिपर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।

सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा बुधबार साँझ सो ट्रिपर दु्र्घटनामा परेको हो।दुर्घटनामा मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ हेप्का गाउँका तान्ज्योत लामा, छिरिङ लामा र नोरी लामा रहेका छन्। ट्रिपर सडकभन्दा करिब ३० मिटर तल खसेको थियो।

घाइतेहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो।
ट्रिपर चालक काभ्रे जिल्ला बुद्ध नगरपालिका–११ भालुखर्कका आनन्द तामाङलाई स्थानीयबासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।

चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको स्थानीयबासीले बताएका छन्।घाइतेहरूको उद्धार तथा घटनाको अनुसन्धान गर्न प्रहरी सहायक निरीक्षकसहितको १३ जनाको टोली घटनास्थलमा पुगेको छ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल अस्पतालमा जानुभई घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो।