प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा राम्रो सुधार

मनमोहनमै डायलासिसको तयारी

0
Shares

भगवती तिमल्सिना,काठमाडांै।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा मंगलबारको तुलनामा बुधबार सोचेभन्दा राम्रो सुधार आएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्।
अस्पताल स्रोतका अनुसार मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि स्वस्थ्यमा सुधार आएकाले फोक्सोले सामान्यरूपमै काम गरेकाले बुधबार बिहानदेखि भेन्टिलेटरबाट बाहिर निकालिएको थियो।

मंगलबार बिहान पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने भएकाले एक्कासी एपेन्डिसाइटिस र पेरिटोनाइटिसको पुष्टि भएपछि शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गर्ने क्रममा पेटभित्र असर पुगी पिप जम्मा भएको र संक्रमण फैलिइसकेकाले चिकित्सकहरूले उक्त संक्रमण रगतमा समेत पुगेको निष्कर्षसहित उपचार जारी राखेका छन्।

अहिले उक्त संक्रमण नियन्त्रणमा रहेको चिकित्सकहरूले बताएका छन्।आईसीयूका विशेषज्ञ सहितको चिकित्सक टोलीले मंगलबार रातभर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको निगरानी गरेका थिए।

यसअघि चांैथोपटकसम्मको उहाँको डायलाइसिस धापासीस्थित ग्रान्डी अस्पतालमा गरिँदै आएको थियो। गत आइतबार मात्र प्रम ओलीको चौथो डाइलासिस गरिएको हो। उहाँलाई हप्तामा दुईपटक डायलासिस गर्न चिकित्सकहरूले सल्लाह दिएका थिए।

यस्तै स्वास्थ्यमा पछिल्लो समयमा देखिएको सुधार यथावत् रहेमा प्रम ओलीको नियमित डायलासिस मनमोहन अस्पतालमा नै गर्ने तयारी भइरहेको एक चिकित्सकले नेपाल समाचारपत्रलाई बताए।