बस दुर्घटनामा १९ को मृत्यु

0
Shares

यमलाल भुसाल, बुटवल। 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु२ख २१४८ नम्बरको बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी यो समाचार तयार गर्दासम्म १८ जनाको मृत्यु र एक दर्जन बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो।

प्रहरीका अनुसार दुर्घटनामा परी १२ जना पुरुष र ७ जना महिलाको मृत्यु भएको छ । मृतकमध्ये १ बालक र १ बालिका रहेका छन्। दुर्घटनामा परी नं. ५ वाहिनी रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको छ। मृतकमध्ये धेरैको घटनास्थलमा केहीको उपचारका क्रममा मृत्यु भएको छ।

यो समाचार तयार पार्दासम्म मृतकको सनाखन हुन सकेको छैन। प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहका अनुसार सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको उक्त बस सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।

घाइतेमध्ये दुई जनाको सन्धिखर्क र अन्यको बुटवलमा उपचार भइरहेको छ। दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयबासीले उद्धार गरेका थिए।