‘दलितका अधिकारका लागि गरिएका आन्दोलन सफल’


कैलाली ।
सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले जातीय भेदभाव तथा दलितका हकअधिकारका सवालमा सदियौँदेखि गरिएको आन्दोलन सफल भएको बताउनुभएको छ ।

दलित कल्याण सङ्घ काठमाडाँैले आज धनगढीमा आयोजना गरेको ‘दलितका समस्या र समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठीमा उहाँले दलितका सवालमा उठेका मुद्दा मामिलाका विषयमा गरिएका आन्दोलनले धेरै कुरामा सफलता हासिल गरिसकेकाले यसमा निराश हुनुपर्ने नदेखिएको बताउनुभयो ।

उहाँले नेपालको संविधानमा पनि दलितलाई दिने हकअधिकार विषयमा कहीँ कतै लेख्ने खाली ठाउँसमेत नछुटाएको उल्लेख गर्नुभयो । सभामुख थापाले प्रत्येक वडादेखि लिएर प्रदेशसभा, राष्ट्रियसभा, प्रतिनिधिसभा, रोजगारी तथा वृद्धवृद्धाहरुलाई सम्मान गर्ने विषयलगायत विभिन्न स्थानमा दलित समुदायबाट पनि प्रतिनिधित्व हुने गरी नेतृत्व स्थापना भएको उल्लेख गर्नुभयो ।

दलित कल्याण सङ्घका अध्यक्ष मोतीलाल नेपालीले नेपाली समाजमा जातीय छुवाछूत नेपाली सामन्तवादको उपज रहेको बताउँदै यसलाई परिवर्तन गर्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
रासस