नक्कली हस्ताक्षर गरी बैंक खाताबाट रकम निकाल्ने छ पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

अर्काको बैंक खाताबाट रकम निकाल्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरुको हस्ताक्षर नक्कल गरी उनीहरुको बैंक खाताबाट १८ लाख ५० हजार रुपैयाँ रकम निकाल्ने कार्यमा संलग्न छ जनालाई सोमबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

काभ्रे पाँचखाल नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्नेहरु १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, बाग्लुङ गलकोट नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक साबिक ज्यामिरे गाविस–९ घर भई काठमाडौं महानगरपालिका–३२ सुविधानगर बस्ने ३० वर्षीय गोबिन्द घिमिरेपक्राउ परेका हुन्।

उनीहरुको साथबाट नगद १८ लाख ५० हजार रुपैयाँ, बिभिन्न व्यक्तिहरूको नागरिकताको प्रतिलिपि २ सय ९० थान, बिभिन्न व्यक्तिहरूको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान, बिभिन्न प्रकार हस्ताक्षर नमूना र बिभिन्न ब्यक्तिहरूको नाम उल्लेख गरिएको डायरी २ थान, विभिन्न व्यक्तिको खाता खोल्न फोटो टाँसेको तयारी फाराम ३ सय थान, १ सय ९५ जनाको व्यक्तिहरुको बैंक स्टेटमेन्ट, विभिन्न बैंकहरुबाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको चेकबुक ५४ थान र काटिएको अवस्थाको चेकबुक १ सय ५६ थान, विभिन्न ब्यक्तिहरूको फोटो ८ सय २५ थान, विभिन्न बैंकको एटिएम कार्ड ८९ थान, बिभिन्न ब्यक्तिहरूको नाममा रकम उल्लेख गरी हस्ताक्षर गरेको अवस्थाका विभिन्न बैंकबाट बिभिन्न ब्यक्तिका नाममा जारी भएका चेकहरू ३ सय २९ थान र अन्य बैंकसंग सम्वन्धित विभिन्न डकुमेन्टहरु अन्दाजी २ वोरा समेत प्रहरीले बरामद गरेको छ ।

गत आइतबार राति जनता बैंकका खातावाल व्यक्तिको खातावाट पटक पटक गरी १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइल मेसेज आएको तर आफूले बैंक चेक कसैलाई नदिएको भन्ने पीडितको सूचना प्राप्त भएपश्चात महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्चपदाधिकारीहरुसँग छलफल गरी अनुसन्धान गर्दा सम्बन्धित खातावालको चेकबुक भन्दा बाहिरबाट नँया चेक बुक निकाली खाताबाट पैसा निकालिएको खुल्न आएको थियो ।

उक्त कार्यमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा पीडितको खाताबाट पुन पैसा निकाल्न चेक वोकी एक जना व्यक्ति जनता वैंक न्युरोड शाखामा आएको सूचना प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिई उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

अभियुक्तहरुले बैंकमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोर्ने, सोही व्यक्तिको नाममा चेक हराएको निवेदन समेत दिई नयाँ चेकवुक निकाल्ने र हस्ताक्षर मिलाई लाखौं पैसा निकाल्ने गरेको, विभिन्न व्यक्तिहरुको नाममा रहेको खाताको सक्कली चेक लिएको, साथै खातावालहरुको सक्कली भिसा कार्ड समेत बनाई प्रयोगमा ल्याएको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका व्यक्तिहरुले हालसम्म कति रकम निकालेको सम्बन्धमा सम्बन्धित बैंकहरुसँग समन्वय गर्दै अनुसन्धान कार्य भइरहेको उक्त परिसरले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरु उपर पाटन उच्च अदालतबाट वैंकिङ्ग कसुर सम्वन्धी ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।