बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु


न्युज अफ नेपाल, अर्घाखाँची ।

अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको घटनास्थलमै मृत्यु भएको छ।

बुटवलबाट अर्घाखाँची गइरहेको यात्रु बस नरपानी र घुम्चीको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। यात्रुले भरिएको बस सडकबाट तल खोँचमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। लु२ख २१४७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर सुरज सुवेदीले बस दुर्घटनापछि कम्तीमा आठ जनाको शव भेटिएको जानकारी दिए ।

बसले माेड काट्न नसक्दा दुर्घटना भएकाे हुनसक्ने अनुमान गरिएकाे छ । बसमा कति यात्रु थिए भन्ने यकिङ हुन सकेकाे छैन । उद्वारकार्य जारि रहेकाे छ ।

त्यसैगरी, हुम्ला सदरमुकाम सिमकोटमा बुधबारै टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। अन्य सातजना घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। नाम्खा गाउँपालिकाको सन्धीखोलाबाट चालम बोकेर सदरमुकाम जाँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको हो।

मृत्यु हुनेमा एकजना महिला र दुईजना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।

जिप्रका हुम्लाका अनुसार मृत्यु हुनेमध्ये नाम्खा गाउँपालिका-१ हेप्काका ४५ वर्षीय छिरिङकर्मा तामाङ र त्यही ठाउँकी ३० वर्षीया नरी लामाको सनाखत भएको छ। अर्का एक पुरुषको अझै सनाखत भएको छैन। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको छ।