ढुंगा बिक्रीका लागि ३० वर्षदेखि जंगलकै बास

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत। 

उमेरले ६३ वर्षको हुनुभएको छ नन्दबहादुर फगामी मगर। कपाल फुलेका छन्, गालामा चाउरी परेको छ। आँखा पनि बस्न थालेका छन्। बुढेसकालले छोप्तै लगेपनि उहाँलाई जंगलको गोठ छाडेर गाउँमा रहेको घर जान मन छैन।

पर्वतको उत्तरमा पर्ने हम्पालको जंगलमा रहेको ढुंगाले छाएको गोठमा बस्दै आउनु भएका फगामीलाई ३३ वर्षदेखि ढुंगाको मायाले घरफर्कन दिएको छैन। जंगलमा उहाँको एउटा मात्रै घर छ।

हम्पालको तल्लो भेगमा ढुंगा निकालेर जीबिकोपार्जन गर्दै आउनुभएका फगामी भन्नुहुन्छ– ‘ढुंगाले तानेर युवा अवस्थामा नै जंगलमा ल्यायो, यसकै मायाले जंगल छाड्न सकिन’
पर्वतको जलजला गाउँपालिका–६,७ र ९ को शिरमा पर्ने हम्पाल क्षेत्रमा घर छाउन प्रयोग हुने ढुंगाका विशाल खानी छन्। माटे, जलजलामा स्लेट जस्तै पातलो ढुंगाहरू पाईन्छन।

एउटै ढुंगा अन्न सुकाउने मान्द्रो जस्तै ठुलो आकारमा निकाल्न सकिने भएकाले टाढा टाढाका मानिसहरू ढुंगा किन्न आउँथे। ढुंगाको व्यापार राम्रो देखेपछि नन्दबहादुरले पनि गोठमा बसेर ढुंगा निकाल्न थाल्नुभयो।

पहिले गाई, भैसीपाल्न र आलु लगाउन बनाइएका खर्कहरू प्रशस्त भएकाले उहाँले पनि २०४० सालमा ३ हजार ७ सयमा एउटा खर्क किन्नु भएको थियो। त्यही खर्कमा ढुंगा निकाल्दा सामुदायिक वनदेखि सरकारी वनले पनि उहाँलाई अवरोध गर्न सक्ने कुरै भएन।

त्यस बखत कास्कीको सल्यान, दाङसिङ, पर्वतको बाजुङ, शालिजा, बनौ, लेखफाँट, मल्लाज, दुर्लुङ, देउपुर, देउरालीसम्म उहाँको खानीमा ढुंगा लिन आउँथे। ‘ढुंगा बिक्रीबाट राम्रो कमाई भएपछि गाउँछाडेर यही बसेको हुँ’ उहाँले भन्नुभयो– ‘अहिले ढुंगाको माग घटेपनि जंगल छाडेर जान सकेको छैन’

घर,गोठ छाउने ढुंगा बिक्री गरेरै उहाँले ५ जना छोराछोरी हुर्काउनुभयो। छोरीहरूको बिहे भयो छोराहरू जलजला ९ बनौ गाउँमा रहेको घरमा झरिसकेका छन। उहाँ र श्रीमती भने जंगलकै वीचमा रहेको गोठमा रमाउनुभएको छ।

आलु र तोरी लगाउने र ढुंगा निकालेर अहिले पनि हातमुख जोड्नु हुन्छ। शुरुमा ९ रुपियाँमा एक हात ढुंगा बिक्री गर्नुहुन्थ्यो भने पछिल्लो समयमा एक हात ढुंगाकै ३ हजारसम्म मूल्यमा बेचेको अनुभव छ। टिनको पाताभन्दा पनि ठूला ढुंगा निस्कन्छन।

तर त्यसलाई बजारमा पुर्याउने हो भने घर छाउने मात्रै होइन मार्बलको सट्टामा प्रयोग गर्न पनि सकिन्छ। यस तर्फ कसैले ध्यान नदिएका उहाँको भनाई छ। जंगलको वीचमा बाघ,भालु, मृगसँग मितेरी गाँसेर बस्नु भएका फगामी अब भने ढुंगा बिक्री नहुने तथा निकाल्न पनि बुढ्यौलीका कारण नसक्ने अबस्थामा हुनुहुन्छ।

जंगलमा एकान्तमा बस्दा पनि कुनै कुराको डर भने छैन। खुसीसाथ जंगलमै बस्दै आउनुभएका फगामी भन्नुहुन्छ ‘ढुंगाकै मायाले यहाँ सम्म आए, माया मारेर गाउँ झर्न सकिन।’