भुजुङ माइक्रो हाइड्रोबारे फोटो प्रदर्शनी शुरू

0
Shares

काठमाडौं, (नेस)।

भुजुङ माइक्रो हाइड्रोपावर स्थापनाको २०औं वर्षगाँठको अवसरमा नेपाल टोकुसिमा जापान फ्रेन्डसिप तथा टोकुसिमा नेपाल फ्रेन्डसिप एसोसिएसनद्वारा मंगलबारदेखि फोटो प्रदर्शनी शुरू गरेको छ।

दुईदिने सो प्रदर्शनीमा जापान र नेपालको सांस्कृतिक पक्ष, भुजुङ माइक्रो हाइड्रोपावरको गतिविधि तथा विभिन्न रोप–वेलगायतका फोटो राखिएको छ।

कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न २० विद्यालयका विद्यार्थीबीच चित्रकला प्रदर्शनीको आयोजना गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दोस्रो विश्वयुद्धको घटनाबाट अप्ठयारोमा परेको जापानले त्यस अप्ठेरोलाई चिर्दै छोटो अवधिमा गरेको आर्थिक विकासबाट नेपालले पनि सिक्न सक्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले जनताको जीवनस्तर उकास्न जापानले गरेको आर्थिक विकासको अनुभवलाई समृद्ध नेपाल सुखी नेपालीको अभियानमा जुटिरहेको नेपालले पनि व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। मन्त्री पोखरेलले सरकारले शिक्षालाई पूर्वाधार र विज्ञानलाई विकासको आधारको रूपमा मानेको बताउनुभयो।

टोकुसिमा नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष यासुताका तानागुचीले भुजुङ माइक्रो हाइड्रोपावर बनाउन स्थानीय जनताले सहयोग गरेका कारण उद्देश्य सफल भएको बताउनुभयो।

उहाँले त्यस गाउँमा जापान सरकारले परियोजना पूरा गरी बिजुली उत्पादन गर्नुका साथै विभिन्न रोप–वेको पनि निर्माण कार्य पूरा गरेको जानकारी दिनुभयो।

नेपाल टोकुसिमा जापान फ्रन्डसिप एसोसिएसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले नेपालले जापानलाई मित्रको रूपमा पाउँदा गौरवको अनुभूति भएको बताउँदै दुई मुलुकबीच सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि सम्बन्ध मजबुत रहेको बताउनुभयो।