सुर्तीजन्य पदार्थ सेवनले हरेक वर्ष २७ हजारको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सुर्तीजन्य पदार्थ प्रयोगको अवस्था र नियन्त्रणका प्रयासमाथि विस्तृत अनुसन्धान हुने भएको छ। सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा वर्षेनी २७ हजारले अकालमा मृत्युवरण गर्दछन्। पछिल्लो समय नसर्ने रोगअन्तर्गत सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने प्रमुख क्यान्सर रोग बढ्दो छ।

विश्व स्वास्थ्य सङठनका अनुसार नसर्ने रोगको पहिलो नम्बरमा क्यान्सर देखिएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले ‘सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण कार्यक्रम’अन्तर्गत सुर्तीजन्य पदार्थको प्रयोगबारे सबै जिल्लामा स्थलगत तथा यसको नियन्त्रणमा बनेका नीतिगत प्रावधान ऐन नियमावलीसहित सरकारको कर प्रणालीका बारेमा विस्तृत अध्ययन गरिने जनाइएको छ।

सुर्तीजन्य पदार्थमाथिको करबाट मात्र गत वर्ष रु ७ अर्ब राजस्व संकलन भएको थियो।
संकलित करमध्ये ४० करोड स्वास्थ्य तथा जनसंख्याया मन्त्रालयले पाएको थियो। मन्त्रालयले पाउने सो रकमको अधिकांश हिस्सा क्यान्सर अस्पताललाई विनियोजन गरेको थियो।

१ करोडमात्र जनचेतनाका कार्यक्रममा खर्च भएको थियो। अर्काेतर्फ सुर्तीजन्य पदार्थ नियमन गर्ने ऐन तथा नियमावली छ तर यसको फितलो कार्यान्वयन अवस्था छ। प्रतिष्ठानद्वारा अनुसन्धानका बारेमा जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा. जयकुमार गुरुङले सुर्तीजन्य पदार्थ सेवनका कारण नसर्ने रोगमा भएको वृद्धि, नीतिगत कार्यान्वयनको अवस्था र कर प्रणालीका बारेमा अध्ययन हुने जानकारी दिनुभयो।

विश्व स्वास्थ्य सङठनले सुर्तीजन्य पदार्थमा ७० प्रतिशतसम्म कर लगाउन आफ्ना सदस्य देशलाई आग्रह गरेको छ। नेपालमा ती पदार्थको उत्पादन तथा बिक्री वितरणमा ३३ प्रतिशत मात्र कर उठाउने गर्दछ। सो कर पनि सन् २००३ बाट गत वर्षमात्र ३३ प्रतिशत पुर्याइएको हो।

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण, विज्ञापनमा रोक र प्याकेटको ७५ प्रतिशत भागमा खतराको र्यापिङ गर्ने प्रावधान छ। दक्षिण एसियाली देशमा भारतपछि सुर्तीजन्य पदार्थ खपत गर्ने देशमा नेपाल छ।

कार्यक्रममा उहाँले सुर्तीजन्य पदार्थ नियन्त्रणमा निरन्तर पैरवी र यससम्बन्धी नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याउनुभयो।

प्रतिष्ठानले सुर्तीजन्य पदार्थका वर्तमान प्रयोगसम्बन्धी जानकारीमूलक प्रतिवेदनको मस्यौदा तयार गरको छ। कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले सरुवाभन्दा नसर्ने रोगको भार वृद्धि भइराखेको चर्चा गर्दै क्यान्सर नियन्त्रणका लागि चेतना र सुर्तीजन्य पदार्थ सेवनमा नियन्त्रण आवश्यक रहेको वताउनुभयो। सुर्तीजन्य पदार्थ सेवनका कारण सरकारले कूल गार्हस्थ उत्पादनको १ दशमलव ८ प्रतिशत व्यायभार व्यहोर्नुपरेको छ।

सुर्तीजन्य पदार्थ सेवनका कारण फोक्सो, मुख, आन्द्राको क्यान्सर हुने सम्भावना बढी रहन्छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले सुर्तीजन्य पदार्थ नियन्त्रण सरकारको प्राथमिकतामा नपरेका कारण नसर्ने रोगको समस्या बढ्दो रहेको जानकारी दिँदै यसको विरुद्ध जनचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिनुभयो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको तथ्यांकअनुसार सुर्तीजन्य पदार्थ (धुमपान र धुवाँरहित) सेवन गर्नेको संख्या २९ प्रतिशत देखाएको थियो।