विशेष प्याकेज आउन सकेन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भर्ना हुनुभएपछि उहाँको विशेष सम्बोधन कार्यक्रम हुन सकेन। १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकका लागि प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्नुहुने कार्यक्रम मंगलबार थियो।

तर, उहाँ स्वास्थ्यको समस्याका कारण बिहानै अस्पताल भर्ना हनुभएपछि प्याकेज घोषणा हुन सकेन। प्रधानमन्त्रीको विशेष प्याकेज सुन्न प्रज्ञा भवनमा सागमा सहभागी हुने खेलाडी तथा पदाधिकारीको बाक्लो उपस्थिति थियो।

प्रधानमन्त्रीको सट्टा खेलाडीलाई सम्बोधन गर्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडा कार्यक्रममा उपस्थित हुनुभएको थियो। मन्त्री खतिवडाले साग पुरस्कार राशीमा उल्लेखनीय वृद्धि हुने मात्रै भन्नुभयो।

उहाँले कति रकम वृद्धि भएको त्यो खुलाउनुभएन। सोही कार्यक्रममार्फत उहाँले भलिबलका लागि कभर्डहल सरकारले बनाउने जिम्मा लिएको सुखद समाचार सुनाउनुभयो।

यसअघिको सागसम्म सरकारले स्वर्ण पदक जित्नेलाई जनही ३ लाख दिएको थियो भने रजत र कांस्य जित्नेलाई क्रमशः २ लाख र १ लाख नगद पुरस्कार दिएको थियो।

सोही कार्यक्रममा कात्तिक २८ गते बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली महिला टोलीलाई पुरस्कार वितरण गरिएको थियो। टोलीका १६ सदस्यलाई जनही ३ लाख नगद पुरस्कार दिइएको हो। नेपालले उपाधि जितेपछि सरकारले पुरस्कार वितरण गर्ने घोषणा गरेको थियो।