नेपाली काँग्रेस र राप्रपा संयुक्तद्वारा चुनावी सभा दुई तिहाइको सरकार पूर्ण असफलः नेता सिंह


न्युज अफ नेपाल, भक्तपुर ।

नेपाली काँग्रेस भक्तपुरले उपनिर्वाचनको प्रचार प्रसारको क्रममा चाँगुनारायण नगरपालिका वडा नं ७ खरीपाटी र वडा नं ८ ताथलीमा कोण सभा आयोजना गरेको छ ।

कोण सभालाई सम्बोधन गर्नुहुदै नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वर्तमान दुई तिहाइको सरकार पूर्णत असफल भएको बताउनुभयो । उहाँले देशमा विद्यमान भ्रष्टाचार रोक्नुको सट त्यसलाई नै ओली सरकारले प्रश्रय दिइ रहेको आरोप लगाउनुभयो ।

प्रदेशको नाम र राजधानी समेत तोक्न नसकेको सरकारबाट थप आशा गर्न नसकिने बताउनुहुदै सरकारलाई सच्याउनको लागि पनि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको बताउनुभयो । उहाँले काण्डै काण्डमा फसेर अलोकप्रिय बन्दै गएको ओली सरकारलाई मतदान गरेर मतको दुरुपयोग नगर्न अपिल गर्नुभयो ।

सभालाई सम्बोधन गर्नुहुदै राप्रपा संयुक्तका केन्द्रीय सदस्य रबिन्द्र प्रताप शाहले नेपाली काँग्रससंगको सहकार्य पार्टीको केन्द्रीय निर्देशनमा भएकोले भ्रममा नपरी सम्पुर्ण कार्यकर्ता तथा शुभ चिन्तकहरुलाई रुख चिन्हमा मतदान गरी साझा उम्मेदवार कृष्णलाल भँडेललाई जिताउन आग्रह गर्नुभयो ।

पूर्व उद्योग राज्यमन्त्री कञ्चन चन्द्र वादेले अहिलेको सरकार कर असुली र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभयो । उहाँले नेकपाको खोक्रो विकासको नारा कमल बिनायक नगरकोट सडकखण्ड बाटै स्पष्ट भएकोे बताउनुभयो ।

त्यसै गरी राप्रपा संयुक्तका केन्द्रीय सदस्य रामेश्वर थापाले भक्तपुरको प्रदेश सभा १ मा भएको लोकतान्त्रिक सहकार्य महंगी, कर, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, कुशासन र अधिनायकवादी कम्यूनिष्ट सरकार विरुद्धको उपज भएको बताउनुभयो ।

कोणसभामा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, क्षेत्रिय सभापति जिवन खत्री लगायतले बोल्नुभएको थियो ।

सभामा नेपाली काँग्रे भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, राप्रपा संयुक्तका भक्तपुर अध्यक्ष रामशरण लामिछाने, नेपाली काँग्रेस भक्तपुरका जिल्ला सचिव निशान ढुंगेल लगायत जिल्ला सदस्यहरु, क्षेत्रिय पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्यहरु, शुभेच्छुक लगायत स्थानीय बासीको बाक्लो उपस्थिति रहेको थियो ।

यसैगरी चुनाव प्रचार प्रसारको अन्तिम दिन मंसिर ११ गते दिनको ठिक १ बजे चाँगुनारायण नगरपालिका वडा नं ७ यातु महादेव संगै जितपुर जानेबाटो हेल्मेट डाँडामा नेपाली काँग्रेस र राप्रपा संयुक्तको संयुक्त चुनावी आमसभा हुँदैछ ।

उक्त आमसभालाई नेपाली काँग्रेस र राप्रपाका शिर्ष नेताहरु लगायत युवा नेता गगनकुमार थापाले सम्बोधन गर्नुहुने क्षेत्रिय सचिव एवं निर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिनुभयो ।