पारवहन सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सकारात्मक  


काठमाडौँ ।

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक देखिएको छ ।

आजदेखि राजधानीमा शुरु भएको नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठकमा भारतीय पक्ष सन्धि पुनरावलोकनका लागि तयार भएको हो । तेस्रो मुलुकसँग नेपालको व्यापार पहुँच विस्तार तथा सहजीकरण गर्न दुवै देशका अधिकारीबीच बैठक बसेको हो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले पारवहन सन्धि पुनरावलोकनका विषयमा दुई पक्षबीच छलफल भएको बताउनुभयो । ‘बल्क कार्गो’ ढुवानीका लागि दुई थप नाका दिन भारतीय पक्ष सकारात्मक भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै जल यातायातका लागि केही नाका थप गरिएको छ । कलकता–कालुघाट–रक्सौल, कलकता–साहिवगञ्ज–रक्सौल, कलकता–साहिवगञ्ज–विराटनगर र कलकता–वणारसी–सुनौली नाका हुँदै जल यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक ढङ्गबाट छलफल भएको उहाँले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग मन्त्रालयका सहसचिव ढकाल र भारतीय पक्षको नेतृत्व त्यहाँका वाणिज्य विभागका अतिरिक्त सचिव भूपिन्द्रर सिंह भल्लाले गर्नुभएको छ ।
रासस