कञ्चनपुरबाट आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ


न्युज अफ नेपाल, कञ्चनपुर ।

कञ्चनपुरबाट आत्महत्या दुरुत्साहनको आरोपमा एक जना पक्राउ परेका छन्

कञ्चनपुरको बेलौरी नगरपालिका–६ का खैरनाका मोहनसिंह ऐरी आत्महत्या दुरुत्साहनको आरोपमा मंगलबार पक्राउ परेका हुन् ।

आफ्नै श्रीमती सरस्वती ऐरीलाई विषालु पदार्थ सेवन गरी आत्महत्या गर्न बाध्य पारेको भन्दै मृतकका बुबा शेरसिंह बोहराले ज्वाइँविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार ऐरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आत्महत्या दुरुत्साहनअन्तर्गत दिएको किटानी जाहेरीका आधारमा शिक्षक ऐरीलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाइएको छ । बेलौरी घर भएका शिक्षक ऐरी कैलालीको कालिका माविमा अध्यापन गराउँदै आएका छन् ।

अपराध संहिता २०७४ को १२ परिच्छेदको ज्यानसम्बन्धी कसुरको दफा १८५ को उपदफा १ अनुसार कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो कार्य गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराए कसुर गर्ने व्यक्तिलाई पाँच वर्ष कैद वा रु ५० हजार जरिवाना हुने व्यवस्था रहेको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएकै बेला महिलालाई आत्महत्या गर्न बाध्य पारिएको घटनाको महिला अधिकारकर्मीले भत्र्सना गर्दै सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।