सन्दिपको आँखाको लेजर शल्यक्रिया तिलगंगामा


न्युज अफ नेपाल, काठमाडौ ।

तिलगंगा आँखा प्रतिष्ठानको रिफ्र्याक्टिभ सर्जरी युनिटमा लामिछानेको आँखाको लेजर सर्जरी गरिएको छ ।

प्रतिष्ठानका रिफ्र्याक्टिभ सर्जन डा.शाश्वत ढुंगेलले नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दिप सर्जरी सोमबार गर्नुभएको हो ।

डा. शाश्वत भन्नुहुन्छ, “ लेजर सर्जरीमा यो एकदमै नयाँ पद्दती हो जुन नेपालमा तिलगंगा आँखा प्रतिष्ठानमा मात्र उपलब्ध छ । आँखामा पावर भएको र चश्मा लगाउन नचाहनेका लागि लेजर सर्जरी सेवा एकदमै प्रभावकारी रहेको छ । यो सर्जरी –०.५ देखि –१४ सम्मको पावर भएकालाई गरिन्छ । लेजरको अरु पद्दती भन्दा यो पद्दतीमा सुख्खापन कम हुने,घाउ छिटो पुरीने आदि हुन्छ ।”

सन्दिपको उपचारका सन्दर्भमा डा.शाश्वत भन्नुहुन्छ शल्यक्रिया पश्चात दृष्टिक्षमता (भिजन) एकदमै राम्रो आएको छ । विश्वका अन्य मुलुकहरुमा यो एकदमै महंगो प्रविधि भएकोले शल्यक्रिया शुल्क पनि महंगो छ तर नेपालमा प्रतिष्ठानले अन्य मुलुकभन्दा सस्तोमा उपलब्ध गराएको छ ।

त्यसैले विश्वका धेरै मुलुकहरुबाट विदेशी तथा गैरआवासिय नेपालीहरु यस शल्यक्रिया गराउन प्रतिष्ठान आउने गरेका छन् ।

प्राय जसो गैरआवासिय नेपालीहरु विदेशमा शल्यक्रिया गराउँदा लाग्ने खर्चले नेपाल भ्रमण लगायत परिवार आफन्तजन तथा साथीभाईसँगको भेटघाट र आँखाको उपचार पनि हुने भएकोले बढी आउने गरेका छन् ।

विदेशीको हकमा पनि शल्यक्रिया साथै नेपाल भ्रमण दुवै हुने भएकोले यसले नेपालको मेडिकल टुरिजम ( स्वास्थ्य पर्यटन) लाई पनि टेवा पुर्याएको छ । नेपालमा यो सेवा शुरु हुनु अगाडि धेरै नेपालीहरु विदेश जाने गर्थे । अहिले प्रतिष्ठानमा उपलब्ध यस सेवाले गर्दा विदेशीने रकम नेपाल भित्रै रहने भएको छ ।

शल्यक्रिया पश्चात सन्दिप लामिछानेको अनुभव यस्तो रहेको छ,“टाढाको वस्तु देख्न समस्या भएपछि चश्मा लगाउनुको विकल्पमा मैले यो सर्जरी गरेको हुँ । विदेशमा पनि बुझेको थिए यस सम्बन्धी तर आफ्नै देशमा गर्ने सोच भएको यहाँ गराए । म एकदमै खुशी तथा सन्तुष्ठ छु । शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ ।”

चश्माको कारणले गर्दा आफ्नो दैनिक जिवन, पेशा, रुचिका क्षेत्र आदिमा कठिनाई सामना गरिराख्नुपर्ने व्यक्तित्वहरुले यो सेवा लिएर चश्मामूक्त जिवन बिताउन सक्नेछन् ।