प्रधानमन्त्री केहीदिन अस्पतालमै रहने


न्युज अफ नेपाल, काठमाडाैँ ।

प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक उत्तम श्रेष्ठका अनुसार प्रधानमन्त्रीको उपचारमा डा. अरुण सायमी नेतृत्वको टोली खटिएको छ ।

डा. अरुणले  प्रधानमन्त्रीको सफल उपचार भइरहेकाे जानकारी दिएका छन् । ”उहाँ अझै केही दिन अस्पतालमै बस्नुहुने बताइएकाे छ । हाम्रो चाहना पनि प्रधानमन्त्री भित्रि मनदेखि तयार भएपछि जानुहुन्छ । हामीले २–३ दिन भिजिटरलाई भेट्न दिँदैनौं ।” डा. अरुणले  भने ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक सायमीका अनुसार प्रधानमन्त्री खतरामुक्त छन् । प्रधानमन्त्रीलाई अहिले आईसीयूमा राखिएको डा। सायमीले बताए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बेलुका पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी समस्या आकस्मिक भएकाले विगतका समस्यासँग नजोडिएको बताए ।

उनले अझै केही दिन अस्पतालमै रहने जानकारी गराए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रीहरुलगायतका अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाका बारेमा जानकारी लिए पनि भेट्न भने पाएनन् ।

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको हो । पेट दुखेपछि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि सेन्टरमा लगिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि अस्पतालले ‘ल्याप्रोटोमी’ र ‘एपेन्डिक्टोमी’ लगायतका विधिबाट प्रधानमन्त्री ओलीको उपचार गरेको उनले जनाएका छन् ।