नवलपरासीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि कुटपिट


न्युज अफ नेपाल, नवलपरासी ।

नवलपरासीमा एक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि कुटपिट भएको छ।

पश्चिम नवलपरासीको बर्दघाट–९ भूताहामा रहेको राजामहात्मा पूर्णभद्र माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकप्रसाद बस्यालमाथि विद्यालयमा नियमित बैठक सकेर फर्किने क्रममा विद्यालय हाताभित्रै कुटपिट भएको हो। कुटपिटबाट बस्यालको टाउको चोट लागेको छ।

विद्यालयमा शिक्षक सरुवा भएर आउनका लागि निर्णय गराउन केही व्यक्तिले आफूलाई दबाब दिएको उनले बताए। आगामी बैठकमा त्यस सम्बन्धमा छलफल र निर्णय गर्ने भनी बैठकमा छलफल नभएपछि बैठकमा किन निर्णय नगराएको भन्दै युवाको समूहले आफूमाथि आक्रमण गरी रड प्रहार गरेको बस्यालको भनाइ छ।

विद्यालयमा विज्ञान शिक्षक खाली रहेको र सोही ठाउँमा सरुवा गराउनका लागि हालसालै स्थायी भएका पुणकान्त गिरीले पटकपटक भन्दै आएको बस्यालले बताए।

आक्रमणबाट घाइते भएका बस्याललाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो। यता बस्यालले आरोप लगाएका गिरीले आफू उक्त घटनामा संलग्न नभएको बताए।

गिरी आफू त्यसै विद्यालयको विद्यार्थी भएको र हाल सोही विद्यालयमा कोटा खाली हुँदा आफ्नो सरुवा थमौतीका लागि पटकपटक आग्रह गरे पनि त्यस विषयमा समितिले चासो व्यक्त नगरेको बताए।

गिरीले आफू कुटपिटमा उत्रिने र गाली गलौचमा उत्रिने खालको नभएको तर स्थानीय भएको कारणले सरुवा थमौतीको लागि आग्रह गरेको बताए।