एसिड छ्याप्नेहरु पुगे जेल


न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा चर्चित एसिड प्रकरणका दुवै अभियुक्त मंगलबार जेलचलान भएका छन् । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज बिष्टको एकल इजलासले दुवै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

एसिड प्रकरणमा मुख्य अभियुक्त भारतीय नागरिक दिलीपराज केशरी र उनका सहयोगी मानिएका सञ्जय मण्डललाई भीमफेदी कारागार पठाइएको छ । प्रतिवादी केशरीका तर्फबाट अधिवक्ता युवराज वली, मण्डलका तर्फबाट अधिवक्ता मदनकुमार दाहाल र पीडितका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधीवक्ता हरिप्रसाद भट्टले थुनछेक बहस गर्नुभएको थियो ।

करिब साढे ६ वर्षअघि एसिड प्रहार गरेर फरार भएका भारत महाराजगञ्ज अमरपूर्वन वडा–६ बस्ने राज भनिने केशरीलाई प्रहरीले पक्राउ गरेको थियो । उनी रेडकर्नर नोटिसमा परेका अभियुक्त हुन् ।

प्रहरीले केशरीलाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३, भलोहीमा लुकेर बसेको अबस्थामा पक्राउ गरेको थियो । निरन्तर खटिएको प्रहरी टोली केशरीलाई पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब निरीक्षक सागरशम्शेर जबरासहित विशेष टोलीले केशरीलाई पक्राउ गरेको थियो । बाराबाट पक्राउ गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका ल्याइएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

केशरीलाई सार्वजनिक गर्न प्रहरीले गरेको कार्यक्रममा हेटौंडाकी पीडित विन्दबासिनी कंसाकारले एसिड छ्यापेर भाग्ने केशरीलाई फाँसीको सजाय माग गर्नुभएको थियो । एसिड प्रहार गरेर भाग्नेलाई फाँसी दिन नसके जन्मकैद सजाय दिन उहाँले माग गर्नुभएको थियो ।

एसिड प्रहार गरेर फरार केशरीलाई मकवानपुर प्रहरीले सार्वजनिक गर्दैगर्दा कंसाकारले रिस थाम्न सक्नुभएको थिएन । एसिड आक्रमणका कारण घाइते हुनुभएकी कंसाकारको हालसम्म ८० लाख खर्च भएको बताइएको छ । एसिड प्रहारपछिको अवधिमा विभिन्न अस्पतालमा गरी ८० लाख रुपियाँ खर्च भएको उहाँले बताउनुभयो । उहाँको उपचार जारी छ ।

२०७० वैशाख ९ गते विहान करिब ११ बजे हेटौंडा–३ मा रहेको आफ्नै भाँडा पसलमा २१ वर्षकी कंसाकारलाई पसलभित्र बसिरहेको अबस्थामा एसिड प्रहार भएको थियो । करिब २७ वर्षका राज केशरी उहाँको अनुहारमा एसिड फ्याँकेर फरार भएका थिए ।