सरकारलाई सच्याउन कांग्रेसलाई मतदान गर्न जरुरी छः डा. प्रकाशशरण महत


न्युज अफ नेपाल, पोखरा ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्ट मन्त्री डा. प्रकाशशरण महतले यसपटकको उपनिर्वाचनमा कांग्रेसलाई मत दिएर गलत काम गर्न उद्दत रहेको बर्तमान सरकारलाई सच्याउन पर्ने बताएका छन।

कास्कीको पोखरामा आयोजित चुनाव विशेष विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री महतले सरकारले बलात्कारी लाई संरक्षण गर्ने, कर वृद्धि गरेर ब्यबसाय गर्ने बाताबरण बिगार्ने र संबैधानिक अंगमा आफ्ना कार्यकर्ता भर्ती गर्ने काम गरेको भन्दै यी कामलाइ रोक्न र जनताको अधिकारको रक्षा गर्न कांग्रेसलाई नै भोट दिनुपर्ने जिकिर गरे।

यो सरकार लोकतन्त्र प्रति नै अनुदार रहेकोले यसले जनताको भावनाको कदर गर्न नसक्ने उनको टिप्पणी छ । वर्तमान सरकार नेपालीको नजरमा मात्र नभएर अन्तराष्ट्रिय मामलामा समेत चुकेको कांग्रेस सहमहामन्त्री महतको निष्कर्ष छ।

उनले देशको सीमाना मिचेर भारतले नक्सा जारी गर्दा समेत ओली सरकार निदाएर वसेको आरोप लगाए । नेपाली कांग्रेस उपनिर्वाचन वुथ उपसमिति क्षेत्र नं २ कास्कीद्धारा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री महतले मत परिणाम नआउँदासम्म कांग्रेसका नेता कार्यकर्ता सक्रीय हुन निर्देशन समेत दिए।

वर्तमान सरकार जनतावाट वहिस्कृत भैसकेको अवस्थामा निर्वाचनमा कव्जाको रणनीति अबलम्वन गर्ने खतरा रहेको औंल्याउँदै उनले वुथ कमाण्डरहरु सचेत रहन आग्रह गरे।

उनले दवाव, प्रभाव र प्रलोभनमा नपरी आफ्नो दायित्व निर्वाह गर्न वुथ कमाण्डरहरुलाई सुझाव समेत दिए। कांग्रेस सहमहामन्त्री डा महतले कास्कीका जनताले कांग्रेस उमेद्वार खेमराज पौडेललाई जिताएर सरकारको गलत रवैयाको भण्डाफोर गर्ने अवसर आएको प्रष्ट पारे।

लोकतन्त्रमा वंशको साशन सैह्य नहुने भन्दै महतले कांग्रेस उमेद्वार खेमराज पौडेल एक निष्ठावान व्यक्ति भएकोले उनलाई नै मतदान गर्न कास्की बासीलाई अपिल गरे।

उनले देशमा व्यप्त अराजकताको अन्त्य गर्न पनि यो उपनिर्वाचनमा कांग्रेसले जित्नै पर्ने ठोकुवा गरे। कांग्रेस सहमहामन्त्री महतले पोखरा ८ मा आयोजित घरदैलो कार्यक्रममा पुगेर कांग्रेस उमेद्वार खेमराज पौडेललाई विजयको शुभकामना पनि दिएका थिए ।