महायज्ञबाट विद्यालयलाई डेढ करोड संकलन


न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा विद्यालय बनाउन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ मंगलबार समापन भएको छ ।

हेटौंडा–१८, हर्नामाडीको फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउन मंसिर ३ गते शुरु श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ मंगलबार समापन भएको हो ।

पण्डित दीनवन्धु पोखरेलले वाचन गरेको सप्ताह महायज्ञ समापनको दिन मंगलबार थप २२ लाख रुपियाँ संकलन भएको लेखा समिति संयोजक बिनोद घिमिरेले जानकारी दिनुभयो ।

समापनका दिन ठूलो रकम सहयोग गर्नेमा हेटौंडा–१८ का माधब थापा र मुकुन्द थापाबाट १२ लाख रकम बराबर १ कठ्ठा जग्गादान भएको छ भने हेटौंडा–५ का व्यबसायी रामबहादुर गौतमबाट २ लाख ७ हजार, पण्डित नारायण पोखरेल प्रतिष्ठान काठमाडौंबाट १ लाख, हेटौंडा–१८ का रामजी थापाबाट ६६ हजार, हेटौंडा–१८ घर भएर हाल अष्ट्रेलियामा रहेका रञ्जन कार्की र रञ्जु कार्कीबाट ५५ हजार, साह मेडिकल हल हेटौंडाका सञ्चालक केशरीप्रसाद साहबाट ५१ हजारसहित २२ लाख रुपियाँ संकलन भएको मूल आयोजक समितिले जनाएको छ ।

३ गते उद्घाटनका दिन २२ लाख ५० हजार, मंसिर ४ गते ५ लाख, मंसिर ५ गते ४ लाख ५५ हजार, ६ गते २० लाख, ७ गते ३५ लाख, ८ गते २५ लाख, ९ गते २४ लाख ५० हजार र समापनका दिन मंगलबार २२ लाख रुपियाँ गरी १ करोड ५८ लाख ५ हजार रुपियाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

प्रदेश–३ का प्रमुख प्रतिपक्ष दलका नेता एवम् महायज्ञ मूल आयोजक समिति अध्यक्ष इन्द्रबहादुर बानियाँको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा पण्डित पोखरेल, हेटौंडा–१८ अध्यक्ष अनिल बानियाँ, विद्यालय व्यबस्थापन समिति अध्यक्ष शैलेन्द्र बानियाँलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समापन कार्यक्रममा विद्यालयको सहयोगार्थ लगाइएको महायज्ञमा सहयोग गर्नेहरुलाई सम्मानपत्र र मायाको चिनो दिएर सम्मान गरिएको थियो ।