गलेश्वर शिवालयमा भक्तजनको घुँइचो (फोटोफिचर)

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

बालाचर्तुदशी पर्वको अवसरमा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा पछिल्लोपटक सबैभन्दा धेरै भक्तजनहरुको सङ्ख्या देखिएको छ । विगतका वर्षहरुको तुलनामा यसवर्ष बिहानैदेखि म्याग्दीका साथै देशका विभिन्न जिल्लाहरुबाट आएका भक्तजनहरुले सतबीज छर्नुका साथै मन्दिरमा पुजाआजा र दर्शन गरेका हुन् ।

बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित मन्दिरमा भक्तजनहरुले आइतबार रातभर जाग्राम बसी पितृ उद्धार तथा शिवलोक प्राप्ति गर्ने जनविश्वासका साथै सतबीज छरेका थिए । यसपटकको बालाचतुर्दशी पर्वको अवसरमा म्याग्दी जिल्लासहित रुपन्देही, चितवन, नवलपरासी, कपिलबस्तु, पाल्पा, गुल्मी, मकवानपुर, काठमाडौं, कास्की, स्याङ्जा, पर्वत, बागलुङलगायत जिल्लाका भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

भक्तजनले दिवङ्गत पितृका नाममा दीपदान गरी बिहानै पितृको सम्झनामा सतबीज छरेर फर्किएका छन् । यसवर्ष ५० हजार भन्दाबढी भक्तजनहरुले मन्दिरको दर्शन गरेको शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित १०८ शिवलिङ्गका साथै प्रवेशद्धारबाटै सतबीच छर्दै मन्दिरभित्र विभिन्न ठाउँमा पुजाआजा गरिन्छ । मूल मन्दिरदेखि गलेश्वर बजारसम्म लाइनमा बसेका भक्तजनलाई व्यवस्थित गर्न प्रहरी, सशस्त्र, स्वयंसेवकहरु परिचालन गरिएको थियो । यसवर्ष बालाचतुर्दशीका दिन सोमबार परेका कारण भक्तजनहरु धेरै आएको क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताए ।

भगवान् शिव मृगरूप लिएर घुमेको पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गर्ने गरिएकोमा त्यसमध्ये एक गलेश्वर समेत भएकाले पनि भक्तजनका चाप बढेको पण्डित भीमनाथ पराज्ुलीको भनाइ छ । सतबीजमा कोदोबाहेक धान, गहुँ, मकै, जौ, केरा, सुन्तला लगायतका अन्न, वनस्पति तथा फलफुलहरु छर्ने गरिन्छ । विभिन्न सयथरी बिउहरु मिसाएर छर्ने भएकाले सतबीज नामाकरण गरिएको किम्बदन्ती पाइन्छ ।

भगवान शिवजीका ८८ वटा अवतारमध्ये बाल अवतारलाई सम्झिएर सतबीज छर्ने प्रचलन समेत रहेको बताइन्छ । विषेशगरी बालाचर्तुदर्शीको अवसरमा शिव मन्दिर परिसरमा सतबीज छर्नाले संसारमा भोकमरी नहुने र खेतीपातीको राम्रो संरक्षण हुने जनविश्वास कोषका उपाध्यक्ष समेत रहेका पराजुली बताउँछन् । शतबीजारोपणले पितृको उद्धार हुनेहुँदा बालाचतुर्दशीलाई विशेष गरी सनातन हिन्दुधर्म अन्तरगतको विशिष्ट महत्वको पर्वका रुपमा मान्ने गरिन्छ । गलेश्वर मन्दिरमा साउने सोमबार र शिवरात्रीमा समेत दर्शनार्थीको घुइँचो लाग्दै आएको छ । शिवरात्री र साउने सोमबारमा दर्शन गर्न आउने भक्तजनभन्दा धेरै बालाचर्तुदशीमा आउने गरेका छन् ।

कृष्णागण्डकीबाट उठेर ९ रोपनीको एउटै चट्टानमा फैलिएको प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरे मात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वयं उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।