कृषि विकास बैंक घोटाला ८ जनाविरुद्ध अख्तियारद्वारा पौने ३ अर्बको मुद्दा दायर


नेपाल समाचारपत्र, काठमाडौं।

कृषि विकास बैंकबाट गैरकानुनी रुपमा पैसा निकाल्ने दुई कर्मचारीसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। सोमबार आयोगले आठ जनाविरुद्ध २ अर्ब ७१ करोड ४४ लाख रुपियँँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो।

२०७१ असोजदेखि २०७२ असारसम्म ९ महिनाको अवधिमा गैरकानुनी रुपमा बैंकको पैसा निकाल्ने दुई जना कर्मचारीसहित आठ जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग दाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ।

कृषि विकास बैंक स्वयम्भू शाखा कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम, बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँसहित सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ।

बैंकका शाखा अधिकृत गौतमसमेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानुनी तवरबाट ३३ करोड ९३ लाख रुपियाँ निकालेको भन्दै उजुरी परेको र सो उजुरीमा अनुसन्धान गर्दा बैंकका शाखा प्रबन्धक बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी गौतमलाई दिएको पाइएको अख्तियारले जनाएको छ।

उक्त दायित्व गम्भीरतापूर्वक बहन गर्न नसकेको, शाखा अधिकृत केदारप्रसाद गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकबाट विद्युतीय चेक राफसाफमार्फत् भुक्तानी लिने गरेको पाइएको छ।

यस्तै आयोगका अनुसार तेजबहादुर थापा नामक नक्कली व्यक्ति खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाएको जनाएको छ। गौतमले योजनाबद्ध ढंगबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैकिङ सिस्टमको दुरुपयोग गरी आफूहरूलाई गैरकानूनी लाभ पुर्याउने र बैंकलाई हानी नोक्सानी पुर्याउने कार्य गरेको आयोगको भनाइ छ। हाल गौतम हाल भारत गई बसेको आयोगले जनाएको छ।

भारतमा बस्ने केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले सहयोग गरेको पाइएको छ। उनले भारतमा बस्न सहयोग गरेको र नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्ने जानकारी हुँदाहुँदै अवैध रुपमा आर्जन गरेको रकम लुकाउन र प्रयोग गर्ने कार्यमा संलग्न देखिएको पाएको आयोगले जनाएको छ। साथै सम्झना पोखरेल गौतमले आफ्ना पति तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट अनियमित तबरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको प्रमाण फेला परेको छ।