श्रीपद्म कलेज तथा स्कुलको वार्षिकोत्सव सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर।

श्रीपद्म मावि दरबार क्षेत्र भक्तपुरले आफ्नो ९६औं जन्मोत्सव तथा पद्म कलेजको दशौं वार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ मनाएको छ।
वार्षिकोत्सवको समापनका अवसरमा पदक/पुरस्कार, विविध छात्रवृत्ति, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै शिक्षाविद् प्राडा. शुरेसराज शर्माले जीवनमा शिक्षाको महत्वबारे चर्चा गर्नुभयो। उहाँले बिजेतालाई पुरस्कार, पदक, छात्रवृत्ति वितरण गर्नुभयो।

कार्यक्रममा प्रदेश सांसद रजनी जोशी ,जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खेमनाथ पोखरेल, भलिबलका अन्तरर्राष्ट्रिय रेफ्री गौतम लासिवा, भलिबल खेलाडी विनोदचरण राय, व्यवस्थापन समिति अध्यक्ष बाबुराजा जोशीलगायतले नमुना पद्म स्कुल तथा कलेजको सफलताको कामना गर्नुभयो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वार्षिकोत्सवको अवसरमा आयोजित विज्ञान तथा सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा सातौं १२ कक्षास्तरीय भक्तपुर जिल्लाव्यापी पद्म कप भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।

विज्ञान तथा सिभिल इन्जिनियरिङ प्रदर्शनीमा विद्यार्थीले ५० किसिमका प्रस्तुति समेटेका थिए, जसमा इलेक्ट्रिक ल्याब, कारपेन्ट्री ल्याब, सिभिल सर्भिस ल्याब, भोलमिटर, साइन्स इन्नोभेसन समेटिएका थिए।

३ दिनसम्म स्कुल समयमा सञ्चालन भएको प्रदर्शनीमा स्कुलका ६ देखि १२ कक्षासम्मका २ सय विद्यार्थी प्रत्यक्षरूपमा सहभागी भएको प्राचार्य राम हाडाले बताउनुभयो। विज्ञान विषय प्रयोगात्मक भएकाले विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित प्रदर्शनीमा विभिन्न प्रतियोगीतामा उत्कृष्ट विद्यार्थीको प्रतिभा प्रदर्शन गरिएको थियो।

यसैगरी भक्तपुर जिल्लाव्यापी पद्म कप भलिबल प्रतियोगीतामा ,स्प्रिङडेल स्कुल प्रथम, आदर्श जनप्रेमी दोस्रो र आयोजक श्रीपद्म मावि तेस्रो भएका छन्। प्रतियोगितामा ८ स्कुल सहभागी थिए। जसमा आयोजक श्रीपद्म मावि, ख्वप, स्प्रिङडेल, आदर्श मावि सानोठिमी, आदर्श जनप्रेमी, एजे स्कुल र सैनिक स्कुलका टिम सहभागी थिए।

समारोहमा स्कुल तथा कलेजका पूर्वव्यवस्थापन समितिका पदाधिकारी, पूर्वशिक्षक/कर्मचारी, भूतपूर्व विद्यार्थीहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरू, राजनीतिक दलका प्रमुख, अभिभावक, पत्रकार तथा शुभचिन्तक महानुभावको सहभागिता रहेको थियो।

नेपाल सरकारले नमुना विद्यालयको रूपमा छनोट गरेको यस विद्यालयमा ईसीडी कक्षादेखि स्नातकोत्तरसम्म १३ सय ५० विद्यार्थी रहेको प्राचार्य हाडाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

पद्ममा १ सय शिक्षक तथा कर्मचारी कार्यरत छन् भने विगत ७ वर्षदेखि प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ विषयको अध्ययन अध्यापन भइरहेको छ।

शैक्षिक शत्र २०७५ को वार्षिक परीक्षा एसईईमा देशभरका प्राविधिक विद्यालय मध्ये पद्मका छात्र विवेक श्रेष्ठले ३.९६ जीपीए ल्याएर सर्वोत्कृष्ट हुन सफल भएका थिए।