नयाँ दिल्लीको प्रदूषण र नेपालको कहर


भारतको नयाँ दिल्लीमा भएको प्रदूषण संकटसँगै हामी नेपाली पनि मुक्त रहने अवस्था छैन। हाम्रो संघीय राजधानी काठमाडौँ त अझ एउटा खाल्डो हो। यहाँको बाक्लो मानवबस्ती, शहरीकरणको चाप र अव्यवस्थित विकासका चालचलनले प्रदूषणको मारमा हामी पनि सिकार बनिरहेकै छौँ। यसले सीमाको दायरालाई पनि त मान्दैन।

नयाँ दिल्लीका जनताको जनजीवन प्रभावित हुँदा विद्यालय बन्द छन्। सवारीसाधन पनि जोर–बिजोर चलाइएका समाचार छन्। ‘ग्यास चेम्बर’ नामबाट भाइरल भएको समस्याका कारण यमुना नदीमा ‘फोम’ जम्मा भएको छ। रेल्वे सेवादेखि हवाई सेवामा समेत अप्ठेरो पर्दा आपतकालीन स्वास्थ्यको मारमा त्यहाँका जनता भयभित छन्।

नयाँ दिल्लीको यो अवस्था पहिलो र अचम्मको कुरा पनि त होइन। आज भारत र भारतीय जनतामात्र होइन त्यसको असर नेपालसम्म आइपुग्ने विज्ञहरू बताउन थालेका छन्।

जलवायु परिवर्तनको चक्रव्युहबाट मानिसको दैनिक जीवन संकटग्रस्त छ। मानव सभ्यता र सजीव प्राणीको जीवनमा पृथ्वीको उष्णीकरण तथा अप्रत्याशित जलवायु परिवर्तनको प्रभाव बढ्दो जोखिम हो।

स्वाभाविक प्राकृतिक चक्रमा विचलन हुँदा अस्वाभाविक तथा असन्तुलित परिवर्तन भई यसले दीर्घकालीन जोखिम निम्त्याउँछ। तर, सरदर हिसाबमा हुने ऋतु परिवर्तन, मौसम परिवर्तन नै चाहिँ जलवायु परिवर्तन होइन। तथापि, मौसमको नियमित अवस्थाभन्दा अस्वाभाविक परिवर्तनले प्रलयको संकट जन्माउँछ, जुन अनिष्टकारी हुन्छ।

मूलतः वायुमण्डलमा मिथेन, कार्बनडाइअक्साइड, नाइट्रस अक्साइडजस्ता हानिकारक मानिने ग्यासको मात्रा बढ्दा हरितगृह ग्यासको मात्रा चाहिनेभन्दा ज्यादा हुन्छ। यी ग्यासहरूको पत्र बाक्लिँदै जाँदा पृथ्वीबाट परावर्तित ताप यतै फर्केर आउनाले तापमान वृद्धि हुन्छ। तब जलवायु परिवर्तन अर्थात् असहज परिवर्तन देखा पर्दछ। यो विश्वव्यापी साझा समस्या हो।

यस्तो अवस्थामा फोहोर तथा बस्ती व्यवस्थापन, डढेलो नियन्त्रण, प्रकोपको न्यूनीकरणका पूर्वसचेतनाहरू हितकारी उपाय हुन सक्छन्।यहाँको पर्यटन विकास, स्वस्थता, रोजगार प्रवद्र्धनका पाटामा पनि यी विषय सकारात्मक बन्छन्।

गोबर ग्यासको प्रयोग, सजीवनको तेलले डिजेलको काम गरेका विकल्पको बाटोमा हामीले हिँड्न सक्दा नवीन नमुनागत दृष्टान्त बन्न सकिएला। आज डेनमार्क, अमेरिका, चीन, ब्राजिललगायतका मुलुकले वैकल्पिक ऊर्जाको उपयोगको विकल्पमा ध्यान पुर्याइरहँदा हामीले पनि वातावरणीय ह्रासलाई जोगाई नवीकरणीय स्वास्थ्यवद्र्धक ऊर्जाका पाटामा हात बढाउनु राम्रो हुने देखिन्छ।

– माधुरी रानामगर,
नरेफाँट, काठमाडौं।