पुरानालाई सम्मान, नयाँ पुस्ताकेन्द्रित नीतिः सुरेन्द्र पाण्डे


न्युज अफ नेपाल, हेटौंडा ।

नेकपाका सचिवालय सदस्य सुरेन्द्र पाण्डेले पार्टी एकीकरणपछि अब पुराना पुस्तालाई सम्मान गर्दै र नयाँ पुस्तालाई केन्द्रित नीति बनाएर अगाडि बढ्नुपर्ने औंल्याउनुभएको छ ।

उहाँले कसैलाई गाली गरेर बस्ने छुट नेकपाको सरकारलाई नभएको पनि बताउनुभयो । पाण्डेले श्रमसँग जोडिन नसके सम्वृद्धिको नाराले सार्थकता नपाउने बताउनुभयो ।

नेकपाका जिल्लास्तरीय नेता कार्यकर्तासँगको भेटका क्रममा सोमबार हेटौंडास्थित कार्यालयमा आयोजित कार्यक्रममा उहाँले दुई तिहाइ मतादेश भएरमात्र पनि सम्वृद्धि नआउने स्पस्ट पार्नुभयो ।

‘जब हाम्रा विकासका अवरोधकहरुको समाधान खोज्न सक्दैनौं भने दुई तिहाइको कुनै अर्थ छैन,’ पाण्डेले भन्नुभयो–नौजवानको भावना बुझेर उनीहरुलाई श्रमसँग जोड्नुपर्छ, भाषण गरेरमात्र सम्वृद्धि असम्भव छ । उहाँले मुलुकलाई आर्थिक सम्वृद्धिको यात्रामा लैजाने सुनौलो अवसर नेकपा सरकारको काँधमा आएकोले काम गरेरै देखाउनुपर्ने सुझाउनुभयो ।

यसअघि अन्य दलका सरकारले काम गरेनन् भन्दै गाली गर्ने संस्कार नेकपामा रहेको दाबी गर्दै उहाँले अरुलाई गाली नगरी आफैं काम गरेर देखाउन सके मुलुकमा सम्वृद्धि पनि आउने र जनमतको कदर हुने उहाँको भनाइ छ । नयाँ योजना र सोचले तीन तहका सरकारले काम गरे नेकपाको योजनाले साथर्कता पाउने उहाँले उल्लेख गर्नुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले देशको अर्थतन्त्र मजबुद बनाउन नयाँ योजना आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र बलियो नभएसम्म मुलुकमा आर्थिक परिवर्तन सम्भव नभएको र आर्थिक परिवर्तन नभएसम्म सम्वृद्धिको लक्ष्यमा पुग्न नसकिने उल्लेख गर्नुभयो ।

नयाँ सोचले नयाँ योजना ल्याएर काम गरेमात्र परिवर्तन सम्भव रहेको बताउँदै उहाँले पुरानो मानसिकताले देशको अर्थतन्त्र बलियो नहुने जनाउनुभयो । नेकपाको सरकारले अब वृद्धभत्तामा मात्र अल्झन नहुने सुझाव दिँदै नेता पाण्डेले युवाहरुलाई कसरी देशमै रोजगारी दिने र पार्टीप्रति आकर्षित बनाउने भन्ने ठोस योजना ल्याउनुपर्ने बताउनुभयो ।

नेकपाको सिद्धान्तअनुसार पुँजीवादी व्यबस्था र कानुन पनि देशमा भएकाले तीव्ररुपमा काम गनुपर्ने पाण्डेको तर्क छ । उहाँले पुँजीको विकासबिना मुलुकको विकास सम्भव नभएकोले सरकारले त्यही योजनाअनुसार काम गनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कुमारी मोक्तान, प्रदेश–३ संगठन विभाग प्रमुख अनन्त पौडेल, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला सचिवालयका बद्री लम्साल, कमानसिं पाख्रिन र एकलाल श्रेष्ठलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।