मंगलबारसम्म रकम फिर्ता नगरे कारवाही गर्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले मंगलबारसम्म रकम फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित आजको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क मंगलबारसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो ।

यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो ।

सरकारले दिएको १५ दिनको समयसीमा भोलि सकिँदैछ । गतवर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजूरी दिन सकिने निर्णय गरेको थियो ।