ज्येष्ठ नागरिक संघद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइयाे


न्युज अफ नेपाल, झापा ।
ज्येष्ठ नागरिक संघ भद्रपुर नगर समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

संघका नगर अध्यक्ष हेमप्रसाद खनाल र सचिव शंकरकुमार गौतमको नेतृत्वमा गएको ज्येष्ठ नागरिकले जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्री  ओलीलाई भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै ज्ञापनपत्र पठाएको हो।

संघले उक्त ध्यानाकर्षणसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी उदय राणा मगरलाई बुझाएको सो ज्ञापनपत्र प्रधानमन्त्री सचिवालयको कार्यालयमा पठाइसकेको मगरले बताएका छन्।

नेपालको राष्ट्रवादी तत्कालीन राजा महेन्द्रको पालामा भारतलाई नेपालको भूभाग कालापानीमा सैन्य दस्ता राख्न दिएपछि नेपाली भूभागमा भारतीय पक्षले आफ्नो मनोमानी गर्दै आएको भए तापनि भारतले हालै जारी गरेको नक्सामा नेपाली भूभाग राखेको मानचित्र सार्वजनिक गरिएकोले ज्येष्ठ नागरिक संघको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ।

भारतले कालापानी र लिम्पियाधुरालाई मात्र होइन नेपालको विभिन्न २३ जिल्लाका ७१ स्थानमा भारतले करिब ६० हजार ६२७ हेक्टर जमिन अतिक्रमण गरेको घटनाले सीमा विवाद हाल तनाव ग्रस्त बनेको संघका सचिव शंकरकुमार गौतमले बताए।

नेपाल भारतको असमान सन्धि १९५० लाई पनि जोडदार रूपमा आधिकारिक स्तरबाट प्रस्तुत गरी समाधान निकाल्ने सुअवसर रहेको हुँदा देशवासीको चाहना बमोजिम सरकारले कूटनीतिक तवरले आफ्नो क्षमता देखाउनुपर्ने ज्ञापनपत्रमा गरिएको छ।