हर्न बजाएर गुड्ने एकैदिन १ सय ८८ सवारी साधनमाथि कारवाही 


न्युज अफ नेपाल, काठमाडौँ ।

ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले सोमबार मात्र १ सय ८८ सवारीसाधनलाई कारवाही गरेको छ ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी गम्भिर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने खतरानाक मोड र चोकमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए ।

ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरिरहेको उनले बताए । विसं २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको छ ।

महाशाखाले २०७४ वैशाख १ देखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधनलाई कारवाही गरिसकेको छ ।

यसै मंसिरमा मात्रै विशेष अभियान सञ्चालन गरि ५ सय ९८ सवारी साधन कारवाहीमा परेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १६४ को (ग) अनुसार ट्राफिक प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ ।

उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५ सय रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।