बाह्रै महिना फूल नफूल्नाले मौरी व्यवसायी संकटमा

0
Shares

किरन धामी, दार्चुला ।

बाह्रै महिना फूल नफूल्नाले दार्चुलाका मौरी व्यवसायी संकटमा परेका छन् । मौरीको चरन क्षेत्रका रुपमा लिइने फूल संधै नफूल्नाले मौरी पालनमा समस्या सिर्जना भएको लेकम गाउँपालिका‐१ सेजालीका मौरी पालक गणेश सिंह कार्कीले बताउनुभएको छ । फूलको अभावले मौरी पालन व्यवसाय सोचे जतिको फस्टाउन नसकेको उहाको गुनासो छ । “बाह्रै महिना फूल फूल्ने भए मौरी पालनमा सहजता हुन्थ्यो उहाले भन्नुभयो ।” फूल नफूलेकै कारण मौरीले मह लगाउन समेत छोडेको उहाले बताउनुभयो ।

“कहिले काही सिजन अनुसारका फूल फूल्नाले मौरी पालनमा केहि सहजता हुन्छ, बाकी दिनहरुमा चिनी खुवाएर मौरी पाल्नु पर्ने बाध्यता छ, मौरी पालक कार्कीले भन्नुभयो ।” मौरी पालन तथा मह उत्पादनका लागी रिठा, चिउरी, तोरी, ऐर, पैयँ, बासिङ्गका फूलहरु उपयुक्त हुने उहाले बताउनुभयो । मौरी पालक कार्कीले भुमिराज मौरीपालन उद्योग दर्ता गरी विगत १५ वर्ष देखी मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ ।

ग्रामिण वातावरण तथा उद्यम विकास समाज नेपाल (रिड्स) बाट मौरी पालन तालिम लिएका कार्कीले अहिले १ सय घार मौरी पालन गरिरहेका छन् । विगतका वर्षमा १ सय ८० वटा मौरी घार रहेकोमा अहिले १ सय घार मात्रै रहेको उहाले बताउनुभयो । अरिंगाल, कालो कमिला र मैन पुतलीबाट मौरीलाई बचाउन बेला‐बेलामा समस्या आइरहने उहाको भनाई छ । अरिंगालको भेरो नै आएर मौरीलाई खाइदिने गरेको कार्कीको भनाई छ ।

एक सिजनमा १ घारबाट ७ किलोग्राम मह काट्ने कार्कीले १ सय घारबाट ७ क्वीन्टल मह जम्मा गर्ने गर्दछन् । मौरी पालक कार्कीले मह विक्रि गरेर एक वर्षमा ७ लाख रुपैया आम्दानी गर्दै आएका छन् । मौरी पालक कार्कीले मह मात्रै नभएर मौरी सहितको घार समेत विक्री गर्ने गरेका छन् । मौरी सहितको १ घार ८ हजार रुपैयामा विक्री गर्दै आएका छन् । सेरना जातको मौरी पालन गर्नु भएका कार्कीको घरमै ग्राहाक आएर मह खरिद गर्ने गरेका छन् ।

मौरी पालक कार्कीलाई बजारको खासै समस्या नभए पनि मौरी पालनमा भने केहि समस्या छन् । चरन अभाव (बाह्रै महिना फूल नफूल्नु) अरिंगालबाट बचाउनु मौरी पालनका समस्या हुन् । ८ जनाको संख्यामा रहेको परिवारको घर खर्च देखी लिएर सबै किसिमको खर्च मह विक्री गरेरै धान्न सकिएको उहाले बताउनुभयो । मौरीको चरन क्षेत्र अभावले विगतको भन्दा मह उत्पादनमा कमी आएको उहाले बताउनु भएको छ । विगतका वर्षहरुमा १२ देखी १५ क्वीन्टल सम्म मह उत्पादन हुने गरेकोमा यसवर्ष भने मह उत्पादनमा निकै कमी आएको उहाको भनाई छ । मौरी पालक कार्कीलाई सरकारी स्तरबाट भने कुनै सहयोग प्राप्त भएको छैन् ।