स्वागतपछि ओलम्पिक टर्चको बिदाइ

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा।

१३ औं सागको ओलम्पिक टर्चसहित मकवानपुर आइपुगेका नेपाली ओलम्पियनलाई हेटौंडामा स्वागत तथा सम्मान गरिएको छ।टर्च बोकेर आएका ओलम्पियन टोलीलाई हेटौंडामा स्वागत र बिदाइ गरिएको हो।

ओलम्पिक टर्च लिएर हेटौंडा आइपुगेको ओलम्पियन जितबहादुर केसी (१९७२ म्युनिख) नेतृत्वको टोलीलाई जिल्ला खेलकुद विकास समिति मकवानपुरले स्वागत गरेको थियो।

दक्षिण एसियाली खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि शुरू भएको ओलम्पिक टर्चको र्याली हेटौंडा आइपुगेको हो। प्रदेश–१ बाट ओलम्पिक टर्च बोकेर प्रचारमा हिँडेका ओलम्पियन टोली शनिबार बेलुका हेटौंडा आइपुगेको थियो।

आइतबार जिल्ला खेलकुद विकास समितिमा भएको कार्यक्रममा टर्च र्यालीलाई स्वागत गरिएको छ। र्यालीलाई हेटौंडा उपमहानगर उपमेयर मीना लामा, प्रदेश खेलकुद विकास परिषद् सदस्य माधव तिमल्सिनाले स्वागत गर्दै चितवनका लागि बिदाइ गर्नुभएको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्याली गरेको हो। १३ जना ओलम्पियनले देशभर टर्च पुर्याउने र विभिन्न सहरमा टर्च र्याली गरिनेछ। टोलीमा ओलम्पियनहरू राजकुमारी पाण्डे (१९८८ एटलान्टा), केसी, टीकाराम श्रेष्ठ (२००४ एथेन्स), मुकुन्दहरि श्रेष्ठ (१९८० मस्को), ज्ञानबहादुर बोहोरा (२००० सिड्नी) र कान्छीमाया कोजु (२००४ एथेन्स) छन्।

ओलम्पियनले एउटा खेलाडीका रूपमा देशको गौरव बोकेको साग खेलकुदको ओलम्पिक टर्च र्यालीमा सहभागी बन्न पाउनु खुसीको क्षण भएको बताए। र्यालीले सागको माहोल देशभर सिर्जना हुने पनि उनीहरुले बताए। ‘१३औं साग सफल पारौं’, ‘जित्छौं, हामी जित्छौं’ र ‘नेपालको जय होस्’ भन्ने नारासहित र्याली जारी छ।

शनिबार टर्च र्याली जनकपुर हुँदै हेटौंडा आइपुगेको थियो। र्याली बुटवल, सुर्खेत, धनगढी र पोखरा हुँदै काठमाडौं पुग्ने तालिका छ। ९ गते लुम्बिनी र बुटवल, १० गते कर्णाली प्रदेशको सुर्खेत र नेपालगन्ज, ११ गते सुदूरपश्चिम प्रदेशको धनगढी तथा १२ गते गण्डकी प्रदेशको पोखरामा टर्च परिक्रमा गरिने बताइएको छ।

१३ गते पोखराबाट टर्चलाई काठमाडौं पुर्याइने छ। मंसिर १५ गते उद्घाटनका दिन काठमाडौंका विभिन्न स्थान परिक्रमा गराएर उद्घाटनस्थल त्रिपुरेश्वरको दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ।