शेयर बजारमा  लगातार गिरावट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । 
लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस साता पनि घटेर शुरू भएको  छ। साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो यस दिन नेप्से १०.५४ अंकले घट्दा परिसूचक १११०.०८ बिन्दुमा झरेको छ।
साथै सेन्सेटिभ परिसूचक भने २.०३ विन्दुले घटेर २४४.८६ विन्दुमा पुगेको छ। लगातारको गिरावटका कारण नेप्से तीन वर्ष अघिकै स्थितिमा जाने संकेतमा रहेको छ।
यस दिन कुल १६२ वटा कम्पनीको ९ लाख २९ हजारभन्दा बढी कित्ता शेयर २८ करोडभन्दा बढीमा कारोबार भएको छ। आइतबार कारोबारमा आएका सबै समूह घटेका छन्।
कारोबार भएका कूल १२ समूहमध्ये बैंकिङ १०.४७, व्यापार ३९.८६, होटल १०.८३, विकास बैंक १०.३९, जलविद्युत् ७.६, वित्त ५.४१, निर्जीवन बीमा ५७.१५, उत्पादन २०.५१, अन्य ४.६६, लघुवित्त ६.३४, जीवन बीमा ४८.०८ र सामूहिक लगानी कोष ०.०९ विन्दुले घटेको छ।
यस दिन पनि एनएमबि बैंकको कारोबार सबैभन्दा धेरै भएको छ। आइतबार यस बैंकको २ करोड ११ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ। बैंकले केही दिन अघि ३५ प्रतिशत लाभांश दिने भएपछि लगानीकर्ताहरु यस बैंकतर्फ आकर्षित हुँदा एनएमबि बैंकको कारोबार उच्च हुँदै आएको छ।
आइतबार नेसनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य चार प्रतिशतले बढेको छ। समग्र परिसूचकमा दोहोरो अंकको गिरावट हुँदा अघिल्लो साता प्रत्येक दिन १० प्रतिशतका दरले वृद्धि हुँदै गएको साल्ट ट्रेडिङ कर्पोरेसनको शेयर मूल्य पनि करिब १० प्रतिशतले घटेको छ।
यसैबीच चालू आर्थिक वर्षको तीन महिनासम्म नेपाल स्टक एक्सचेन्जा सूचीकृत कम्पनीहरूको संख्या २१७ रहेको छ। सूचीकृत कम्पनीहरूमध्ये १५४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्। जसमध्ये ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्।
 असार मसान्तमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो।सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पँुजीकरणको हिस्सा ७८.५ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.१ प्रतिशत र अन्य समूहका कम्पनीको हिस्सा ९.२ प्रतिशत रहेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७६ असोज मसान्तसम्ममा सूचीकृत ४ अर्ब ४० करोड शेयर संख्याको चुक्ता मूल्य रु.४३१ अर्ब ८३ करोड रहेको छ। आर्थिक वर्ष २०७६/७७ को तीन महिनामा ३३ अर्ब ७२ करोड बराबरको साधारण शेयर,८ अर्ब ८ करोड बराबरको बोनस शेयर, रु.१ अर्ब ४५ करोड बराबरको हकप्रद शेयर, ३५ करोड बराबरको डिबेन्चर र रु.१ अर्ब १४ करोड बराबरको अन्य गरी कुल ४४ अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब ४० करोडको डिबेन्चर निस्कासनको अनुमति प्रदान गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार धितोपत्र बजार पँुजीकरण वार्षिक विन्दुगत आधारमा २.४ प्रतिशतले ह्रास भई २०७६ असोज मसान्तमा  १४४५ अर्ब ५६ करोड रुपियाँ कायम भएको छ। २०७६ असार मसान्तमा बजार पुँजीकरण १५६७ अर्ब ५० करोड रुपियाँ रहेको थियो।