नयाँ सडकमा पनि पुरानै शैली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 
नेपालको शहरी सडक निर्माण सम्पन्न भइसकेपछि ढल, खानेपानीको पाइप बिच्छ्याउने प्रयोजनका लागि नयाँ सडक खन्ने पुरानै प्रवृत्ति हो। यो प्रवृत्ति अझैसम्म पनि सुध्रिएको पाइँदैन।
विकासको योजना एकीकृत रुपमा अघि बढ्नुको सट्टा अन्तरनिकायबीचको मनपरीतन्त्रले यस्तै विकराल रुप लिइरहेको छ।
सडक निर्माण सम्पन्नपछि ढलले खन्ने, ढलको कामका लागि खनेको सडक नपुरेको महिनौं दिनपछि फेरि खानेपानी कामका लागि सडक खनेर सडकको बेहाल स्थिति सायद नेपालमा मात्रै देख्न पाइन्छ होला। यो चलनकै रुपमा विकास भई अहिलेसम्म रोकिएको छैन।
यो नेपालको विकास योजनामा हुने पुरानै रोगजस्तै बनेको छ। शहरी सडकमा प्रायः देखिने यहाँको अन्तर्राष्ट्रिय स्तरको भनिएको चीनले बनाइदिएको चक्रपथको सडकमा पनि यस्तै विकृति देखिएको छ।
चिनियाँ सरकारको सहयोगमा निर्माण सम्पन्न भइसकेको चक्रपथको कोटेश्वर–कलंकी सडकको विभिन्न खण्डमा यस्तै गरी सडक खन्ने काम जारी राखेको छ।
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा चक्रपथको १० किलोमिटर सडक खण्ड निर्माण सम्पन्न गरी गएको माघ महिनामा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
सडक विभागले यस सडकको जिम्मा लिएसँगै कोटेश्वर–कलंकी सडक खण्डको विभिन्न भागमा सडकको कालोपत्रे भत्काउन थालेको छ।
विभागले आकाशे पुुल निर्माण गर्नुपर्ने भन्दै विभिन्न खण्डमा सडक खनेको हो। विभागका इन्जिनियर निरञ्जन शर्माले उक्त सडक निर्माण गर्नुपूर्व बनाइएको डिजाइनमा आकाशे पुल नभएकाले आकाशे पुल निर्माणका लागि सडक खन्नुपरेको बताउनुभयो।
विभागले बालकुमारी, सातदोबाटो र एकान्तकुनामा सडक खनेर आकाशे पुल निर्माण गरिरहेको छ। ‘चीनले बनाएको डिजाइनमा पुल थप थिएन।
पछि पुल आवश्यकता भएकाले पुल निर्माणका लागि चोकचोकलाई केन्द्रित गरी पुल निर्माण गरिरहेका छौं’ –विभागका इन्जिनियर शर्माले भन्नुभयो।
शर्माका अनुसार उक्त सडक खण्डको अन्य भागमा पनि पुल निर्माण गर्नुपर्ने भएकाले अझै पनि सडक खन्नुपर्ने देखिएको छ। महालक्ष्मीस्थान, धोबीघाट र बल्खुमा पुल निर्माणका लागि सडक खन्नुपर्ने विभागले जनाएको छ।
चीनको डिजाइनअनुसार कोटेश्वर र बीएन्डबी हस्पिटलमा गरी दुईओटा आकाशे पुल निर्माण गरेको थियो।
‘चीनले आफ्नो डिजाइनअनुसार मात्रै संरचना निर्माण गरेर गयो, आवश्यक संरचना नेपाली पक्षले नै निर्माण गर्नुपर्ने हो। हामी त्यसलाई सुधार्ने पक्षमा छौं’ –विभागका इन्जिनियर शर्माले बताउनुभयो।