राप्रपा संयुक्तले उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने घोषणा


पुष्कर बुढाथोकी, भक्तपुर ।

यही मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ (क) मा प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले नेपाली काँग्रेसका उम्मेदवारलाई सघाउने भएको छ ।

आज नेपाली काँग्रेस र राप्रपा संयुक्तले कमलविनायकमा आयोजना गरेको कार्यगत एकता घोषणा सभामा राप्रपा संयुक्तले आफ्नो पार्टीको सम्पूर्ण भोट नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई दिने गरि कार्यगत एकताको घोषणा गरेको हो ।

कार्यक्रममा राप्रपा संयुक्तका केन्द्रीय सदस्यहरु रबिन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ, रामेश्वर थापा र भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले राप्रपाको सबै भोट नेपाली काँग्रेसका उम्मेदवारलाई हाल्ने गरि समर्थन गर्दै कार्यगत एकता गरेको घोषणा गर्नुभयो ।

त्यसक्रममा उहाँहरुले राप्रपा संयुक्तका सबै नेता कार्यकर्तालाई आफ्नो मत खेर नफाली नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आव्हान गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीता गुरुङ्ग, काँग्रेसको आमन्त्रिक केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दूर्लभ थापा, क्षेत्रीय सभापति जीवन खत्रीले राप्रपाको मतलाई समर्थन गर्दै चुनावमा मात्रै नभई विकासमा समेत अब कार्यगत एकता गर्दै जाने घोषणा गर्नुभयो ।

उहाँहरुले नेपाली काँग्रेसका उम्मेदवार भडेलले अब अत्याधिक मतले विजयी हुने दाबी समेत गर्नुभयो । आगामी उपनिर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवार नभएपछि काँग्रेसलाई समर्थन गर्ने घोषणा गरेको हो ।

भक्तपुरमा राप्रपा संयुक्तले काँग्रेसलाई सघाउने भएपछि अन्य दलमा हल्ली चल्ली भएको छ । आक्रमक रुपमा चुनावी माहोलमा लागेका दलहरुबिच राप्रपा संयुक्तले कसलाई सघाउँछ भन्ने रहेको थियो ।

दुई पार्टीले केन्द्रीय तहमा हुने सहमतिलाई प्रदेशसँगै संघीय र स्थानीय तहको निर्वाचनमा आत्मसात गर्ने गरी चुनावी एकता भएको बताएका छन्।उनीहरुले कांग्रेस, नेकपा र नेमकिपालाई मंसिर १४ गतेको निर्वाचनमा नजिते पनि केही फरक नपर्ने तर राप्रपा (संयुक्त) को लागि निर्वाचन जित्नु जीवनमरणको सवाल रहेको जिकिर गरे।

‘कांग्रेस, नेकपा र नेमकिपालाई मंसिर चुनावको निर्वाचन हार्दैमा केही फरक पर्दैन’, उनीहरुले एकै स्वरमा भने, ‘तर राप्रपा संयुक्तलाई असर पर्छ। यो चुनाव हाम्रो लागि जीवनमरणको प्रश्न हो। त्यसैले हाम्रो साझा उम्मेदवारले चुनाव जित्नु अत्यन्त जरुरी छ।’

उनीहरुले यो कार्यगत एकताले नेपाली लोकतान्त्रिक आन्दोलनमा दूरगामी असर पर्ने दावी गर्दै यसलाई लामो समयसम्म निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा मातृशोकमा परेका नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेलसमेत उपस्थित भएका थिए। उनले आफू मातृशोकमा परेर जनताबीच जान नसकेको अवस्थालाई ख्याल गरेर राप्रपा संयुक्तले साथ दिएकोमा धन्यवाद ज्ञापन गरे।

दुई दलले गरेको सहमति भने गोप्य राखिएको छ । दुबै दलले कसैले नहार्ने तथा कोही तल नपर्ने गरी दुवै पार्टीले जित्ने गरी ‘विनविन’ सहमति गरिएको स्पष्ट पारेका छन् यो एकतासँगै प्रदेश निर्वाचनमा कांग्रेस बलियो देखिएको छ। कांग्रेस र राप्रपा संयुक्तका नेताहरुले कम्युनिष्ट तानाशाहीविरुद्ध कमल थापा नेतृत्वको राप्रपालाई समेत कांग्रेसका उम्मेदवार बनेका कृष्णलाल भडेललाई समर्थन गर्न आह्वान गरेका छन्।
सहमतिका लागि पटक पटक दुई दलका शीर्ष नेतृत्वबीच पहल र वार्ता भएको थियो ।