भक्तपुर क्यान्सर अस्पतालमा झडप, बिरामी र बिरामी कुरुवासमेत भागाभाग


पुष्कर बुढाथोकी, भक्तपुर ।

दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा संचालन हुदै आएको भक्तपुर क्यान्सर अस्पतालको पुरानो ब्यवस्थापन समितिले नयाँ प्रमुख प्रशासकीय अधिकृत र मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । विवाद झडपमा परिणत हुँदा उपचारमा आएका विरामी र विरामी कुरुवाहरुमा समेत भागदौड चलेको छ ।

लोकेन्द्र कुमार श्रेष्ठ नेतृत्वको पुरानो व्यवस्थापन समितिको बोर्ड बैठकले अस्पतालको प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार र मेडिकल सुपरिटेन्डेन्टमा डा.दिपेश धिताललार्ई नियुक्त गरेको विरोधमा हाल अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका डा. ऋषिकेश नारायण श्रेष्ठ सहितको कर्मचारी टोलीले अस्पतालमा नारावाजी गरेको थियो ।

शिलाकार र धितालको जिम्मेवारीमा अस्पतालको काम कारवाही अगाडी बढ्न नदिने अस्पतालका कर्मचारीको भनाई छ ।दुई पक्षबीच झडपको अबस्था सिर्जना हुँदा नवनियुक्त शिलाकारको गाडीमा तोडफोड समेत भएको छ भने शिलाकार लगायत समर्थनमा गएका कर्मचारी र सुभेच्छुकमाथी हातपात समेत भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख सबिन प्रधानले थप झडप हुन नदिन प्रहरीले बेलैमा सचेतता अपनाएको र स्थिति सामान्य बनाएको बताउनुभयो ।

पुरानो ब्यबस्थापनले अनियमिततम गरेको आरोपमा हाल भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ ब्यवस्थापन समिति गठन गरिएको छ भने यसबारेमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्दै हाललाई यथाबस्था मै संचालन गर्न आदेश दिएपनि रिटको किनारा भने नलाग्दा थप अन्यौल भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेकोे भन्दै भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यबस्थापन समिति खारेज गर्दै एक पक्षीय रुपमा नयाँ समिति गठन गरे पछि थप बिवाद सिर्जना हुँदै आएको हो ।

यस बिषयमा संसदमा गगन थापा र महेश बस्नेतले भनपाको हस्तक्षेप र अनियमितताको छानवीनबारे स्वास्थ्य मन्त्रालयको ध्यानाकर्ष गराउनु भएको थियो ।
जवाफमा निबर्तमान उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भक्तपुर क्यान्सर अस्पताल एउटा संस्थाले चलाएको अस्पताल भएकाले यसको सम्पुर्ण जिम्मेवारी संस्थाकै भएको भन्दै भनपाको हस्तक्षेप र अस्पतालमा भएको अनियमितता बारे मन्त्रालयले कदम चाल्ने बताए पनि मन्त्रालयले ठोस कदम नचाल्दा अन्यौल बढ्दै गएको छ ।

अस्पतालको पुरानो व्यबस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ‘ईश्वर’ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा शिलाकार र मेडिकल डाईरेक्टरमा डा.धिताल, डेपुटी मेडिकल डाईरेक्टरमा डा. अजय झा, डा. उत्सवमान श्रेष्ठलार्ई नियुक्त गरे लगत्तै आज पदबाहाली गर्न आएपछि कर्मचारीले बिरोध गरेका हुन् ।

हाल अस्पतालमा मेडिकल डाईरेक्टरको जिम्मेवारी सम्हालिरहनु भएका डा. ऋषिकेश नारायण श्रेष्ठको नाम प्लेट हटाएर नयाँको नाम प्लेट राखेर पदबाहाली गर्ने क्रममा औपचारिक कार्यक्रम भईरहदा कर्मचारी टोलीले ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्दै अस्पतालमा नारावाजी गर्दै कार्यक्रम स्थल पुगेका थिए ।

अबस्था बिकराल बनेपछि अस्पतलाका पुरानो व्यबस्थापन समितिका कोषाध्यक्ष केपी ताम्राकार, महासचिव विमल होडा, सचिव महेश श्रेष्ठ, नयाँ कार्यकारी निर्देशक शिलाकार, नयाँ मेडिकल डाईरेक्टर डा. धिताल लगायतलाई अस्पतालको कार्यक्रम हल मै दुईघण्टासम्म बन्द गरिएको थियो ।

स्थानीय बासिन्दा समेतले अस्पताललाई घेराबन्दीमा राखेर अस्पताल प्राङ्गनमा र कर्मचारीले अस्पताल प्रशासनमा नाराबाजी गरेपछि अबस्था चिन्ताजनक हुन थालेपछि न्यून संख्यामा आएका प्रहरीले उनीहरुलाई बाहिर निकालेका थिए ।

अस्पतालमा स्थिति असामान्य बन्दै झडप भएपछि पदबाहाली नगरी बन्द कोठामा रहेकाहरुलाई प्रहरीले बाहिर निकालेर सुरक्षित स्थान तर्फ लैजाने क्रममा अस्पताल प्राङ्गनमै उनीहरु माथि आक्रमण भएको थियो ।

आक्रमणसंगै अस्पतालबाट पुरानो व्यबस्थापनका पदाधिकारी र नयाँ नियुक्ती पाएकाहरुलाई व्यासीसम्म लखेटी शिलाकार र होडामाथि आक्रमण गरिएको थियो । स्थानीयले होडाको हातबाट माईन्युट समेत खोसेर च्यातेका छन् भने हातपात समेत गरेका छन् । झडपको क्रममा नवनियुक्त कार्यकारी निर्देशक शिलाकारको बा.१२ च. ४८६ नम्बरको कार तोडफोड गरिएको छ ।

अस्पतालमा झडप भई भागदौड मच्चिदा समेत प्रहरी परिषरबाट पर्याप्त प्रहरी नआएको प्रत्यक्ष दर्शीले बताएका छन् । प्रहरीलाई पटक पटक घट्नाबारे जानकारी गराउँदा पनि सुरक्षा नपुगेको होडाले बताउनुभयो ।

अस्पताल कर्मचारी कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले भन्नुभयो–“पुरानो व्यबस्थापन समितिले चरम भ्रष्टाचार गरेपछि अस्पताल जोगाउन कर्मचारी एक भएका हौ, भ्रष्टाचारको छानबिन गरि सत्यतथ्य बाहिर नल्याई नयाँ कार्यकारी निर्देशक र मेडिकल डाईरेक्टर नियुक्ती गर्ने नाटक गरेपछि बिरोध गर्नु परेको हो, भ्रटाचारको छानबिन नभएसम्म पूर्वव्यबस्थापन समितिका भ्रष्टाचारको अभियोग लागेकाहरुलाई अस्पताल प्रवेश निषेध गरेका छौ ।”

सरोकारवालाले अस्पतालको भबिष्य बचाउनका लागि सर्वपक्षीय र सर्वपक्षीय समिति गठन गरि अनियमितता बारे छानवीन गर्नुपर्ने र दोषी देखिए जो सुकै होस् कारवाही गर्नु पर्ने र नयाँ निकास खोज्नुपर्ने बताउँदै आएका छन् ।