उपनिर्वाचनको सुरक्षा अबस्था बुझ्न डिआइजी घिमिरे बुर्तिबाङ्गमा

उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न निर्देशन


न्युज अफ नेपाल, बागलुङ्ग ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख बिनोद शर्मा घिमिरे बागलुङ्गको बुर्तिबाङ्ग पुगेर आशन्न प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको उप–निर्वाचनको सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

बाग्लुङ स्थित उप–निर्वाचन निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरुलाई निर्देशन दिन र निर्वाचनमा सुरक्षा अबस्थाका बारेमा जानकारी लिन घिमिरे स्थलगत अवलोकनका लागि बागलुङ्गको बुर्तिबाङ्ग पुग्नुभएको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घिमिरे लगायत बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय बाग्लुङ प्रमुख प्रहरी उपरीक्षक नवराज भट्ट लगायत अन्य सुरक्षा निकायका पदाधिकारीहरुले संयुक्त रुपमा अनुगमन र सुरक्षालाई प्रभाबकारी बनाउन निर्देशन दिएर फर्कनु भएको हो ।

अनुगमनका क्रममा उक्त स्थानको सुरक्षा अवस्था, जनशक्ति तथा श्रोत साधन परिचालन लगायतका विषयमा छलफल गरिएको थियो । प्रदेश प्रहरी प्रमुख घिमिरेले उप–निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा विश्वसनिय वातवरणमा सम्पन्न गराउनका लागि विशेष सुरक्षा रणनीति अनुरुपउच्च सतर्कताका साथ काम गर्न निर्देशन दिनुभयो ।

यही मंसिर १४ गते बागलुङमा प्रदेश सभा २ ‘ख’ र बडिगार्ड गाँउपालिका वडा नं. २ को वडाध्यक्ष पद सहित गण्डकी प्रदेशका लमजुङ, कास्की र नवलपरासी पूर्व गरी ४ जिल्लामा ५ सिटका लागि उप निर्वाचन हुँदैछ ।

जसमध्ये १ प्रतिनिधि सभा कास्कीमा, १ प्रदेश सभा बाग्लुङमा र बाग्लुङ, लमजुङ र नवलपरासी पूर्वका ३ स्थानीय तहको उप– निर्वाचन हुँदै छ ।