पाटेबाघको छालासहित छ जना पक्राउ   


न्युज अफ नेपाल, धादिङ ।
गजुरी गाउँपालिका–२ वालसिङबाट पाटेबाघको छालासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाघको छाला ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर दुर्लभ पाटेबाघको छाला १ थान, तीनओटा मोटरसाइकलसहित छ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रहरीले खानतलासी गर्दा बा. १८ प ९६९३ नम्बरको मोटरसाइकल चालक भाइराम प्रजा र सो मोटरसाइकल पछाडि बस्ने राजेन्द्र तामाङले बोकेको जेब्रा झोलाभित्र बोरामा लुकाइछिपाई राखेको अवस्थामा ७ फिट २ इन्च लम्बाइ र १ फिट ३ इन्च चौडाइ भएको पाटे बाघको छाला फेला पारेको थियो ।

प्रहरीले बा. १८ प ९६९३, ग ७ प ५९६३ र ग ६ प १६४५ नं.को मोटरसाइकल बरामद गरेको छ ।

गजुरी गाउँपालिका–३ का ३८ वर्षीय प्रजा, सोही स्थानका ३४ वर्षीय तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका–२ का ५७ वर्षीय सन्त तामाङ, सोही गाउँपालिका–३ का २१ वर्षीय राजकुमार तामाङ छालासहित पक्राउ परेका छन् ।

पक्राउ गरिएको छाला र छ आरोपीहरुलाई प्रहरीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम अनुसन्धान गरी कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको छ ।