सप्तखेल टोल सुधार समितिद्वारा समाचारपत्रलाई सम्मान


न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका– ९ स्थित सप्तखेल टोल सुधार समितिले नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलाई सम्मान गरेको छ ।

समितिको १४ औं वार्षिक साधारणसभाको अवसरमा आयोजित एक समारोहकाबीच नेपाल समाचारपत्रलाई सम्मान गरिएको हो । सो क्षेत्रको भौतिक विकास र सामाजिक, धार्मिक लगायत मानवीय विकासको समाचार सम्प्रेषण गर्दै आएको भन्दै नेपाल समाचारपत्र दैनिकलाई सम्मान गरिएको हो ।

सो अवसरमा वडा नं ९ का वडाअध्यक्ष राजु महर्जनले नेपाल समाचारपत्र सहायक सम्पादक सुनील महर्जनलाई कदर पत्रसहित मायाको चिनो प्रदान गर्नुभयो ।

समारोहमा समितिका अध्यक्ष गुणराज शाक्यले स्थानीय गतिविधि प्रकाशनसंगै समितिका लागि तीन वर्षदेखि हरेक दिन समाचारपत्र दुई प्रति उपलब्धै गराउँदै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । यसबाट स्थानीयवासीहरु दैनिक पत्रिका अध्ययनसंगै सञ्चारमा पहुँच बढेको अध्यक्ष शाक्यको कथन रहेको छ ।

सो अवसरमा सहायक सम्पादक महर्जनले विकासको एउटा आयाम संञ्चारमा पहुँच रहेको उल्लेख गर्दै नियमित पत्रिका पढ्ने बानीसंगै सञ्चारमा पहुँचका लागि समितिले गरेको प्रयास अनुकरणीय रहेको धारणा राख्नुभयो ।

‘ भौतिक विकासको जग मानवीय विकास’

यसैबीच वडास्तरीय र नगरस्तरीय योजना सञ्चालनमा समिति मार्फत स्थानीयवासीको सक्रिय भूमिका रहेको सम्बद्ध वक्ताहरुले बताएका छन् ।
वडाअध्यक्ष राजु महर्जनले विकास निर्माणमा स्थानीयको सक्रिय सहभागिता, सामाजिक, ज्ञानमाला भजन र बुद्ध पुजा लगायत नियमित धार्मिक गतिविधिका हिसाबले समितिको भूमिका सराहनीय रहेको बताउनुभयो ।

समिति मार्फत स्थानीयको सक्रियताको कारण अघिल्लो आर्थिक वर्षका विभिन्न नगरस्तरीय योजनाहरु सफलतापूर्वक कार्यान्वयन भएको पनि उहाँले बताउनुभयो ।

विकासको लागि र भएको विकासलाई संरक्षण गर्न चेतनाको विकास, सांगठनिक रुपमा अघि बढ्ने लगायत मानवीय विकासको खाँचो रहेको उल्लेख गर्दै वडाअध्यक्ष महर्जनले भन्नुभयो ‘समिति दुई वटा हिसाबले उदाहरणीय रहेको छ । महिला समूहको सक्रियता प्रशसा योग्य छ । भौतिक विकासको जग मानवीय विकास हो ।’

नेपालमण्डल टेलिभिजनका प्रमुख क्यामरा ‘पर्सन’ समेत रहनुभएका समितिका अध्यक्ष गुणराज शाक्यले सेवामूलक भावले विकास निर्माणका काम गर्दा प्रभावकारी हुने अनुभव हासिल गरेको बताउनुभयो ।

स्थानीय विकास र टोलबाट आएको सुझावलाई वडाले मनन गर्दै अघि बढ्ने पनि विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । सभामा सचिव आनन्दकुमार श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सो अवसरमा समितिका कोषाध्यक्ष जितेन्द्र व्यञ्जनकारले बाटो, ढल, पानी ट्रयाकंी लगायत विकासको लागि वडा र नगरपालिकाबाट आएको कूल बजेटमा जनसहभागिता र श्रमदान गरेर टोललाई नाफा दिलाउन सफल भएको निष्कर्ष रहेको आर्थिक प्रतिवेदन प्रस्तुतत गर्नुभयो ।

सो अवसरमा महिला समूहको उपाध्यक्ष सुशीला शाक्यले पनि बोल्नुभएको थियो ।

समितिको अध्यक्षमा व्यञ्जनकार

समितिको १४ औं वार्षिक साधारण सभाले जितेन्द्र व्यञ्जनकारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्ष शर्मिला देशार व्यञ्जनकार, सचिवमा आनन्दकुमार श्रेष्ठ, कोषाध्यक्षमा नवीन महर्जन, सहसचिवमा यमा हरिशरण रसाईली, सहकोषाध्यक्षमा ज्ञानबहादुर महर्जन रहनुभएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यमा विकास श्रेष्ठ, लक्ष्मीहेरा ताम्रकार र केशरी जोशी रहनुभएको छ ।