सेवासुविधाको मागगर्दै बागमती प्लास्टोटेकका कर्मचारी आन्दोलित


सरोज यादव, विराटनगर ।

विराटनगरस्थित बागमती प्लास्टोटेक ईण्डस्ट्रीज प्रालिका मजदुरहरु नियमअनुसारको सेवासुविधाको मागगर्दै आन्दोलनमा उत्रिएका छन ।

१३ बुँदे मागसहित आन्दोलनमा उत्रिएका उनिहरु उद्योगको मुल गेटमा पाल टाँगेर धर्ना दिइरहेका छन । उद्योगले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनिहरु रानीस्थित उद्योगको उत्पादन ठप्पगरि आन्दोलनमा उत्रिएका हुन ।

उद्योगले विना सुचना ८ मजदुरलाई बिना कारण निष्काशन गरेपछि गएको जेठ १२ गते आन्दोलनमा उत्रिएका उनिहरुसंग उद्योगले सरोकारवालाको रोहबरमा १३ बुँदे सम्झौता गरेको थियो ।

निष्कासित मजदुरलाई पुनः नियुक्ती दिने तथा थप बुँदाहरु कार्यान्वयन गर्दै जाने भनिएपनि त्यसो नगरिएका कारण उद्योग ठप्पगरि आन्दोलनमा उत्रिनुपरेको मजदुरहरुको भनाई छ । विगतको सम्झौता अनुसार निष्काशित मजदुरलाई पुन काममा फर्काइएपनि अन्य बुँदाहरु कार्यान्वयगर्न उद्योगले चासो नदिएको उनिहरुको आरोप छ ।

सम्झौता कार्यान्वयनगर्न श्रम कार्यालयले ६ पटक सम्म तागेता र पत्र काट्दा समेत उद्योगले अटेर गरेपछि बाध्य भएर मजदुरहरु आन्दोलनमा उत्रिनुपरेको समाजबादी ट्रेड युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले बताउनुभयो । विगतमा गरिएको सम्झौता अक्षरस पालना नभएसम्म हडताल जारी रहने उहाँको भनाई छ ।

सो उद्योगमा १४ पुरुष र ६ जना महिला समेत २० जना मजदुर कार्यरत छन । कतिपय मजदुर ५ बर्षदेखी श्रम गर्दै आएपनि उनिहरुलाई हालसम्म नियुक्ती नदिइएको र ज्यालादारीमा ५ सय १७ रुपैयामात्र मजदुरी दिने गरिएको मजदुर नेता शैलेन्द्रकुमार मण्डलले बताउनुभएको छ ।

उहाँले श्रम ऐन अनुसारको १३ हजार ७ सय ५० तलब सहित अन्य सुविधाहरु नदिएसम्म आफुहरु काममा नफर्कने चेतावनी दिनुभयो ।