‘घरको ढोका हाल्ने पैसा छैन, छोरोलाई बचाउन खोरमा थुन्नु परेको छ’

0
Shares

सीताराम अधिकारी, धादिङ ।

सिद्धलेक गाउँपालिका–२ की ६० वर्षीया सुकुमायाँ नेपालीको दैनिकी बिहान छोरोका लागि खाना बनाउने र घरको धन्दा गर्दैमा बित्ने गर्छ ।

उमेरका ६० काटेकी वृद्ध आमा ३३ वर्षीय छोरोलाई दिनहुँ भात पकाएर खुवाउनु पर्ने बाध्यता मात्र होइन उसलाई बचाउनका लागि खोरमा थुनेर काम जानुपर्ने कारुणिक कथा उनको लागि दसा सावित भएको छ ।

आफूलाई बुढ्यौलीमा पालनपाेषण गर्ला भन्ने छोरोलाई पाल्नु पर्ने बाध्यता त छ हालै निर्माण गरेको घरमा ढोका राख्ने पैसा समेत नहुँदा छोरोलाई खोरमै थुनेर राख्नु परिरहेको सुकुमायाँले बताउनुभयो ।

सुकुमायाँको छोरो सिलाबहादुर नेपाली ३० वर्षदेखि खोरमा थुनिएर बसीरहेका छन् ।

मानसिक स्वास्थ्य समस्या र सुस्त मनस्थितिको समस्याका कारण घरबाट भाग्ने र लडेर मर्ने डरले उनलाई खाना खुवाएपछि, आमा काममा निस्कने बेलामा खोरमा थुनेर राख्नु पर्ने बाध्यता नै आएको हो ।

स- साना हातखुट्टा, दुब्लो शरिर, अनुहार समे सुकेर चेप्टो भएको र दाँत समेत बाहिर निस्केका सिलाबहादुरलाई आर्थिक अभावमा उपचार खर्च नभएपछि घरमै खोरमा थुनेर राख्नु परेको हो ।

उपचार गराउन खर्च छैन । आफू पालिन समेत नपुग्ने थोरै पाखो बारी छ । हरेक दिने खानाको लागि समस्या वयहोर्दै आउनुभएकी सुकुमायाँले १० वर्षअघि मलेखु लगेर स्वास्थ्य शिविर आउँदा छोराको उपचार गराएकी हुन् र निरन्तर औषधी खुवाउनु पर्ने भएपछि खर्च अभावमा उपचार समे गर्न नसकेको उहाँले बताइन् ।

अभावै अभावले गर्दा भूकम्प पीडितको घर निर्माण गरेको भएपनि ढोका हाल्न नसकेपछि टहरामै बस्न बाध्य भएको सुकुमायाँको भनाइ छ ।

सरकारले जोखिम लाभग्राही भनेर एकल महिला र अपांगता भएको व्यक्तिलाई पुनः निर्माणका लागि थप ५० हजार रुपैयाँ पाउने भनेपनि सुकुमायाँको नाम एकल, र अपांगता भएको भएपनि जोखिमयुक्त लाभग्राही सूचिमा नाम नभएपछि यो सहुलियत समेत पाएकि छैनन् ।

सुकुमायाँ मात्र होइन नीलकण्ठ नगरपालका–२ की इन्द्रकुमारी मगरले सरकारले भूकम्पबाट घर क्षति भएर निर्माण गर्न दिएको रकमले घर निर्माण गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । एकल भएपछि कसरी घर बनाउने ? उहाँको प्रश्न छ ।

उनिहरु सरकारले भनेको जोखियुक्त लाभग्राही हुन् । प्रकृति छुट्टै र समस्या समान अर्थात घर निर्माण गर्न नसक्नु नै हो वा घर बनाएर पनि पुरा गर्न नसक्नु नै हो ।

उनिहरुमात्र होइन पुनः निर्माण प्राधिकरणले भुकम्पपछि गरेको तथ्यांक संकलनको आधारमा धादिङ जिल्लामा १ हजार ८ सय २९ लाभग्राही जोखिमयुक्त अवस्थामा रहेका थिए । यसमध्ये घर निर्माण सुरु नै नगर्ने लाभग्राहीको सख्या अझै ९८ रहेको पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार आनन्दराज पाण्डेको भनाइ छ । जोखिमयुक्त लाभग्रहीमध्ये १ हजार १ सय ७४ ले मात्र सर निर्माण सम्पन्न गरेका छन् । घर निर्माण सुरु गरेर पनि ६ सय ५५ ले निर्माण सम्पन्न गर्न सकेका छैनन् ।

एकल महिला, ७५ वर्ष नाघेका मानिस, १४ वर्ष मुनिका मानिस र अपांगता भएका मानिसहरुको घर जोखिमयुक्त लाभग्राही भनेर पुनःनिर्माण प्राधिकरणले परिभाषित गरेको छ ।