आत्मनिर्भर बन्दै महिला

0
Shares

बेझाड । सदियौँ देखि चुलो चौकामा खुम्चिएका पाल्पाका महिला पछिल्लो समय आफै व्यवसाय थालेर आत्मनिर्भर हुन थालेका छन् ।

विगतमा दुई चार पैसाका लागि पनि श्रीमान्सँग हात थाप्नुपर्ने बाध्यताबाट गुज्रिसकेका यहाँका महिला अहिले भने आफैं व्यापार र उद्योग सञ्चालन गरेर आत्मनिर्भर बनेका हुन् । पशुपालन, कुखुरापालन, व्यावसायिक खेती, सिलाइकटाइ, शृङ्गार प्रसाधनका साथै गुडिया बनाउने, झिनियाँ बनाउने, र अचार बनाउने व्यवसाय उनीहरुले अङ्गालेको पाइएको छ ।

महिलाको नाममा व्यापार, व्यवसाय, उद्योग दर्ता गर्ने क्रम जिल्लामा बढ्दो छ । चेतनाको स्तर बढेसँगै उनीहरुले महिला घरायसी काममै मात्र सीमित रहनुपर्छ भन्ने मान्यता त्यागेका छन् र आर्थिक उन्नतिका निम्ति उनीहरू जुर्मुराएका छन् । रामपुर नगरपालिका वडा नं ६ तालपोखराकी विष्णुदेवी गैरेले आफ्नै नाममा ‘गैरे गाईफार्म’ दर्ता गरेर व्यवसाय चलाउनुभएको छ । उहाँको फार्ममा अहिले १२ वटा गाई छन् । दूध बिक्रीबाट उहाँ मासिक ३० हजारसम्म आम्दानी गर्नुहुन्छ ।

“गाई पाल्न शुरु गरेदेखि केही न केही पैसा हातमा हुन्छ, परिवारमा खुशियाली छ, अरुको निर्भर रहनुपरेको छैन,” उहाँले भन्नुभयो ।
परिवारको दिगो आयस्रोत नहुँदा जीवनमा धेरै सङ्घर्ष गर्नुपरेको बताउँदै उहाँले आफन्त, छरछिमेक, साथीभाइसँग ऋण गुहार्दा कसैले नपत्याएको अनुभव सुनाउनुभयो । अहिले व्यवसाय फस्टाउँदा टाढिएका आफन्त, छिमेकी, साथीभाइले उहाँको खुलेरै प्रशंसा गर्न थालेका छन् ।

यस्तै रामपुर – ४ सदावर्तकी रेनुकादेवी ठाडाले ‘ठाडा तरकारी तथा नर्सरी फार्म’ आफ्नै नाममा दर्ता गरेर तरकारीका बिरुवा उत्पादन र तरकारी खेती गर्नुहुन्छ । यही व्यवसायबाट दुई सन्ततिलाई उहाँले उच्च शिक्षा अध्ययन गर्न दिइरहनु भएको छ । “व्यवसायबाटै जेठो छोरालाई भारतको पञ्जाबमा सफ्टवेयर इन्जिनीयरिङ्ग पढाएँ,” उहाँले भन्नुभयो – “उसले लगानी अनुसार राम्रै पढ्यो । अहिले पढाइ सक्याएर बैङ्लोरमा जागीर थालेकोे छ । कान्छो छोरा पोखरामा एलएलबी तेस्रो वर्षमा पढ्दैछ ।”

उहाँले तरकारी खेतीसँगै बाख्र्रा, बङ्गुर र भैसीपालन पनि गर्नुभएको छ । आफैले चलाएको व्यवसायमा बिहान दिउँसो र साँझ काम गर्न पाउँदा आनन्द लाग्ने गरेको उहाँ बताउनुहुन्छ । रामपुर–५ राङभाङ्गकी लक्ष्मी श्रेष्ठले झिनियाँको उद्योग चलाउनु भएको छ । विस।२०६५ देखि झिनियाँ उद्योग थालेकी उहाँले वर्षमा झिनियाँबाट रु सात लाख बराबरको कारोबार गर्नुहुन्छ ।

“घरमा बिहान साँझको कामधन्दा सक्याएपछि अरु काम हुदैन, दिउँसो फुर्सदको समय झिनियाँ बनाउने र बेच्ने गर्छु,” उहाँले भन्नुभयो – “हातमा दाम सधैं परिरहन्छ । श्रीमान्सँग पैसाका निम्ति हात थाप्नु पर्दैन ।”

शुरुमा दशै, तिहार र माघे सङ्क्रान्तिलाई मात्र लक्ष्य गरी झिनियाँ बनाउने गरेकामा उहाँ झिनियाँको माग बढेका कारण वर्षैभरि उत्पादन गर्नुहुन्छ । यसवर्षको तीज, दशैं र तिहारमा मात्रै चार लाख बराबरको झिनियाँ बिक्री गर्नुभएको छ । यहाँ उत्पादन भएका झिनियाँ पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपुर, बुटवल लगायतका ठाउँमा खपत भइरहेको छ ।

व्यापार राम्रो भएका कारण उहाँ अहिले कामदार नै राखेर झिनियाँ बनाउने गर्नुहुन्छ । आकार अनुसार प्रतिदर्जन रु ६० देखि ९० र फुटकर रु ८० देखि ९० सम्ममा झिनियाँ बिक्री भइरहेको छ । रामपुर नगरपालिका क्षेत्रमा करीव एक दर्जन जति महिला झिनियाँ उत्पादन व्यवसायमा आबद्ध छन् ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा पछिल्लो समय महिलाको नाममा व्यापार, व्यवसाय र उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै १२१ वटा उद्योग महिलाको नाममा दर्ता भएका छन् । जिल्लामा उत्पादनमा आधारित नौ, कृषि तथा वन्यजन्तुमा आधारित ३३, पर्यटनमा आधारित ५४ र सेवामा आधारित २५ वटा उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७५/७६ को अवधिमा ९६ वटा उद्योग दर्ता भएका छन् जसमा उत्पादनमा आधारित नौ, कृषि तथा वन्यजन्तुमा आधारित २६, पर्यटनमा आधारित २१ र सेवामा आधारित ४० वटा महिलाका हुन् । आव २०७४/७५ मा महिलाको नाममा उत्पादनमा आधारित दुई, कृषि तथा वन्यजन्तुमा आधारित ११, पर्यटनमा आधारित २५ र सेवामा आधारित २९ गरी जम्मा ६७ वटा उद्योग दर्ता भएका थियो ।

गएको कात्तिक २८ गतेसम्ममा महिलाको नाममा रु २०० दस्तुर लिएर एक करोड रुपैयाँसम्मको व्यवसाय दर्ता गरिन्थ्यो । अहिले पाँच लाखसम्म पुँजी भएका व्यवसायको सम्बन्धित नगरपालिका तथा गाउँपालिकामै दर्ता गर्ने व्यवस्था छ । प्रदेश नं ५ को प्रदेश सरकारबाट प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ तथा सोही नियमावली २०७६ ले पाँच लाख रुपैयाँसम्म पुँजी भएकाको सम्बन्धित स्थानीय तहमै दर्ता हुने व्यवस्था गरेको छ ।

पाँच लाखसम्म पुँजी भएकालाई रु एक हजार दर्ता दस्तुर र पाँच लाख भन्दा माथि २० लाखसम्म पुँजी भएकालाई रु पाँच हजार, २० लाख देखि ५० लाख सम्म १५ हजार र ५० लाखदेखि माथिका उद्योगलाई २५ हजार दर्ता दस्तुर लाग्नेछ । महिलाको हकमा भने ५० प्रतिशत छुटको व्यवस्था छ ।

अपाङ्ग तथा दलित पुरुषका लागि पनि ५० प्रतिशत छुट छ । अपाङ्ग, दलित पुरुषले भने व्यवसाय, व्यापार, उद्योग दर्ता गराउँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र पेश गर्नुपर्छ । उद्योग दरखास्त बापत रु १०० शुल्क तिर्नुपर्छ ।

आफ्नै नाममा उद्योग दर्ता गरेर व्यवसाय गर्ने महिलाको जिल्लामा हिजोआज उत्साह बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत बालकृष्ण गैरेले बताउनुभयो । महिला आफैले उद्योग तथा व्यवसाय चलाउन थालेपछि परनिर्भरता क्रमिक रुपले घट्दै गएको गैरेले बताउनुभयो ।

आर्थिक वर्ष २०७५/७६ को अवधिमा जिल्लामा ३७० नयाँ उद्योग थपिएका छन् भने ३६८ उद्योग नवीकरण भएका छन् । निष्क्रिय अवस्थामा रहेका ३६ उद्योग खारेज भएका थिए जसअन्र्तगत उत्पादनमा आधारित दश, कृषि तथा वन्यजन्तुमा आधारित दश, पर्यटनमा आधारित दश र सेवामा आधारित छ वटा थिए ।

आव २०७४/७५ मा कुल ८३ वटा घरेलु उद्योग दर्ता भए । ती न्यूनतम एक लाखदेखि एक करोड पचास लाख रुपैयाँसम्मका उद्योग हुन् । घरेलु उद्योग दर्ता गर्ने क्रम बढ्दै जाँदा जिल्लामा धेरैलाई रोजगारीको मिलेको छ ।

दश करोडसम्म पुँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोड रुपैयाँसम्म पुँजी भएका उद्योगलाई मझौला उद्योग र २५ करोडदेखि माथिका उद्योगलाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ । दश करोडभन्दा माथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ । जिल्लामा एक करोड पचास लाख रुपैयाँसम्मका दुई/तीन वटा उद्योग मात्रै सञ्चालनमा छन् भने साठी लाख रुपैयाँसम्म लगानी रहेका व्यवसायलाई ठूला उद्योग मानिन्छ ।