सलिम अन्सारी, प्युठान।
झिमरुक गाउँपालिका–१ बाँदीकोट बडाचौर प्युठानका रुमलाल पोखरेलले आफूले जान्दा बुझ्दादेखि गाउँमा कोदो खेती गर्दै आउनुभएको छ।
७२ वर्षीय पोखरेल हिजोआज पाकेको कोदो भित्र्याउन व्यस्त हुनुहुन्छ। पुस्तौंदेखि गरिँदै आएको कोदो खेतीलाई उहाँले अझैसम्म निरन्तरता दिइरहनुभएको छ।
पोखरेल एक पाथी कोदोको ८० रुपियाँमा गाउँकै अन्य किसानलाई बिक्री गर्नुहुन्छ। उहाँले ६ रोपनी जग्गामा खेती गर्नुभएको छ।
‘वार्षिक करिब १३ मुरी कोदो उत्पादन हुन्छ’, पोखरेलले भन्नुभयो– ‘यसलाई पारिलो ठाउँ चाहिन्छ। उब्जाउनु मात्र पर्छ, बेच्न समस्या छैन।’प्युठानका उत्तरीपूर्वी क्षेत्रमा पर्ने गाउँका किसानको कोदो पुख्र्यौली खेती नै हो।
कतिपयको यही खेती जीविका चलाउने माध्यम बनेको छ। झिमरुक गाउँपालिकाको बाँदीकोट, बांगेमरोठसहित गौमुखी गाउँपालिकाको नारीकोट, खुङ, पुँजा, अर्खा, रजवारा, लिवाङ गाउँ कोदो खेतीका लागि प्रख्यात मानिन्छन्।
जिल्लाका अन्य माथिल्लो बस्तीका ठूलो क्षेत्रफलमा कोदोको खेती हुने गरेको छ।बहुउपयोगी कोदोको अझै पनि सदुपयोग राम्रोसँग हुनसकेको छैन।
केहीले कोदोको ढिँडो, रोटी बनाउन प्रयोग गरे पनि अधिकांशले यसलाई कुहाएर मदिराका रूपमा प्रयोग गर्ने गर्छन्।
यस क्षेत्रका गाउँमा पुग्ने जो कोहीले पनि कोदोकै मदिरा प्रयोग गर्न चासो राख्ने गरेको पाईन्छ। तर, गाउँका सामाजिक अगुवाहरू कोदोलाई मदिराका रूपमा कुहाएर प्रयोग गर्न नहुने बताउँछन्।
स्थानीय सरकारले अर्गानिकरूपमा उत्पादन हुने कोदोको विभिन्न परिकार बनाएर बजारीकरण गर्नसके गाउँका किसानहरूले आम्दानीको स्रोत बनाउन सक्छन्।
पुरानै शैलीबाट गरिने खेतीलाई बदलेर आधुनिक तरिका अपनाएमा धेरैको आम्दानीको माध्यम कोदो बन्न सक्ने सम्भावना छ।
परम्परागत खेतीले किसानहरूको जीवनस्तरमा परिवर्तन ल्याउन सकेको छैन। अगुवा किसानबाट उनका ज्ञान, सीपलाई नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्ने पोखरेल बताउनुहुन्छ।
प्रतिक्रिया