मृगौला पीडित अमरलाई लायन्स क्लबद्धारा सहयोग


यमलाल भुसाल, बुटवल ।

मृगौला पीडित एक युवकलाई सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले सहयोग गरेको छ । क्लबले अर्घाखाँचीको सितगंगा नगरपालिका–४ स्थित रातामाटाका २१ वर्षिय अमर नेपालीलाई २१ हजार २ सय ११ रुपैंया प्रदान गरेको हो ।

दुवै मृगौलामा समस्या भई हाल काठमाण्डौं महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचाररत रहेका नेपालीलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबका संस्थापक अध्यक्ष गौतम गुप्ताले बताउनु भयो ।

आर्थिक अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् र उपचारको वातावरण बनोस् भन्ने उद्देश्यका साथ आर्थिक रकम प्रदान गरेका छौं, पीडितको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल अन्य संघ–संस्थाले पनि सहयोग गर्न म आग्रह गर्दछौं, गुप्ताले भन्नु भयोे ।

भ्रर्खरै मात्र डिप्लो तहको अध्ययन सकेर रोजगारमा लागेका नेपालीलाई मृगौला सम्बन्धि रोगबाट पीडित भएपछि उनको परिवारमा पनि चिन्ता थपिएको छ । अमरलाई सहयोग गर्न उनका काका टोपेन्द्र नेपालीले आग्रह गरेका छन् । पीडितलाई सहयोग गर्न चाहने व्यक्ति तथा संघ–संस्थाले ९८६९९४६५०१ म सम्पर्क गर्न सक्ने उनले जनाएका छन् ।