ग्यास बुलेट र डिजलका ट्यांकर ठोक्किएः बाल्टिनमा भरेर लगियो डिजल


न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको मनहरी गाउँपालिका–६ मा ग्यास बुलेट र डिजल बोकेको ट्यांकर ठोक्किएका छन् । ठक्करका कारण चुहिएको करिब २० हजार लिटर डिजेल स्थानीयले बाल्टिनमा थापेर घर लगेका थिए ।शनिबार विहान करिब साढे ४ बजे उक्त दुर्घटना भएको हो ।

मनहरीको कत्ले खोलास्थित दुर्घटनास्थलमा रहेको ट्यांकरबाट चुहिएको डिजल स्थानीयले बाल्टिनमा भरेर लगेका हुन् । ट्यांकरबाट तेल चुहिएकोले स्थानीयको तेल थाप्न भिड देखिएको थियो ।

बस्ती नजिक भएकोले थप दुर्घटना हुनसक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा पठाइएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

सम्भावित दुर्घटनालाई मध्यनजर गरेर चितवनको खैरहनी नगरपालिका, हेटौंडा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जका गरी ३ वटा दमकल तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताउनुभयो ।

सम्भावित दुर्घटनाको डरले जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाएको थियो । मानवीय दुर्घटना भएको छैन । तर, दुवै गाडीका चालक भागेका छन् । दुवै गाडी बाटोमै पल्टिएका थिए । करिब ८ घण्टापछि ट्यांकरलाई उठाइएको थियो ।

उक्त स्थानमा प्रहरीले सुरक्षासाथ बाटो एकतर्फी सञ्चालनमा ल्याएको छ । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको लु. १ ख ९६४६ नम्बर तेल ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय एनएल ०१ क्यु–५०७३ नम्बरको बुलेट ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । दुर्घटनापछि मकवानपुर प्रहरी निकै तनावमा देखिएको थियो ।