स्वास्थ्य मन्त्रीमा भानभक्त र राज्यमन्त्रीमा नवराजले सम्हाले पदभार


न्युज अफ नेपाल, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ मन्त्री भानुभक्त ढकाल र राज्यमन्त्री नवराज रावत पाएको छ । नवनियुक्त स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पदबहाली गर्दै मन्त्रालयका सचिव तथा कर्मचारीहरुलाई कसैलाई काखा र कसैलाई पाखा नगरिकन जनसेवामा जुट्न निर्देशन दिनुभयो ।

मन्त्री ढकालले बिगतमा भन्दा अहिले जिम्मेवारी पाएको मन्त्रालय जनताको पहुँच भएकाले जनताको मूल समस्यालाई पछ्याउँदै काम गरेर देखाउने बताउनुभयो ।

सोही अवसरमा नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतले पनि पदभार सम्हाल्नु हुँदै आफू सधै जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रीद्धयले पदभार सम्हाले लगत्तै स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारी समायोजनको समस्या अझै टुंगी नसकेको समस्या दर्साउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमण्डल पुनर्गठन गरी उपप्रधानमन्त्री उपेन्द्र यादवले सम्हाल्दै आएको मन्त्रालय ढकाललाई जिम्मा दिनुभएको हो । यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिन पार्टी अध्यक्ष प्रचण्डले जोड दिएको र मन्त्री यादव भने बिदेश भ्रमणमा रहेको बुझिएको छ ।

मन्त्री यादवले आफ्नो जिम्मेवारी पुरा गर्नुको सट्टा विदेश भ्रमण र आफ्ना निकटतम व्यक्तिलाई अनुकुलमा भत्र्ती तथा मिलान गरेका कारण प्रधानमन्त्री ओली मन्त्री यादवको कामप्रति असन्तुष्ट भएर हटाउने प्रस्ताव अघि सारेकोमा अध्यक्ष दाहालले अर्को मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव अघिसार्नुभएको बुझिएको छ ।

निर्वतमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवलाई भने मन्त्रीमण्डलबाटै हटाईएकोछ ।