सखुवाप्रसौनीमा हुन लागेको उपचुनाव बिथोलियाे


न्युज अफ नेपाल, वीरगञ्ज ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा वडाध्यक्षका लागि हुन लागेको उपचुनाव बिथोलिएको छ ।

निर्वाचन आचारसहिंता विपरीत भोज भतेर गरि चुनावकाे प्रचारप्रसार सुरु गरेपछि प्रहरी प्रशासनले त्यसलाई बिथोलेको हो ।

उपचुनाव आचारसंहिता अनुगमन समितिले अनुगमनका क्रममा त्यस्तो गतिविधि भएको पाएपछि रोकेको बताएको छ ।

अचारसंहिता विपरीत पम्पलेट, व्यानर, झण्डा लगाएको पाइएपछि हटाउन लगाइएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । त्यस्तै बुधबार राति समाजवादी पार्टी नेपालको तर्फबाट राखिएको भोज पनि बिथोलिएको छ ।

स्थानीय अशेश्वर साह कानूको घर अगाडि टेन्ट लगाएर भोजको तयारी गरिएकोमा बिथोल्न सफल भएको प्रहरीले जनाएको छ ।

समाजवादी पार्टी नेपालका समर्थकका लागि खसी काटेर भोज लगाउने तयारी भइरहेको जानकारी पाएपछि प्रहरी भोजस्थल पुगेको थियो ।

आचारसंहिता विपरीतको गतिविधि नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि प्रहरीले नै टेन्ट खोलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

भोज गर्नु आचारसंहिता विपरीतको काम हो भनी सम्झाउँदा अबरोध आएको तर रोकिएको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बागेश्वरी तित्रौनाका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले बताए ।

समाजवादी पार्टी मात्रै नभएर अन्य पार्टीका उम्मेदवारले समेत आचारसंहिता विपरीत चुनावमा खर्च गरिरहेको मतदाताको भनाइ छ ।