सुरक्षित भविष्यका लागि राजसंस्थालाई पनि स्पेस दिनुपर्छः बोहोरा


न्युज अफ नेपाल, दाङ ।

तुलसीपुर राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दीपक बोहराले नेपालको सुरक्षित भविष्यका लागि राजसंस्थालाई पनि स्पेस दिनुपर्ने बताएका छन्।

दाङको क्षेत्र नं ३ (ख) मा हुने उपनिर्वाचन अन्तर्गत हापुरेमा आज भएको चुनावी सभामा बोल्दै नेता बोहराले संबिधानको परिधिभित्र रहने राजसंस्थाको पुनःस्थापनाका लागि राप्रपा मात्रै होइन देशका सबै राजनीतिक शक्तिका बीचमा बहस हुनुपर्ने धारणा व्यक्त गरे।

उनले देशको स्थायित्व, विकास, एकता र समृद्धिका लागि राजसंस्था, हिन्दु राष्ट्र र सुदृढ स्थानीय शासनको पक्षधर राजनीतिक शक्तिहरु कहिल्यै पुरातनवादी नहुने बरु अग्रगमनकारी हुने ठोकुवा गरेका थिए।

नेता बोहराले भारतले सीमा मिचेको बिषयमा सरकार गम्भीर बन्नुपर्ने बताए। भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी मिचेर नक्सा सार्वजनिक गरेको भन्दै उनले सर्वदलीय बैठक मार्फत सरकारलाई उच्च मनोबल प्रदान गरेता पनि सरकारले भारतसँग कुटनीतिक ढंगबाट वार्ता गरी समस्याको समाधान गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा खेलाँची गरिरहेको बताए।

राप्रपा उपाध्यक्ष प्रेमबहादुर भण्डारीले अहिले नेपालमा जबरजस्ति धर्म परिबर्तन गर्ने ठूलो गिरोह सक्रिय भएको भन्दै यसले कालान्तरमा धर्मयुद्ध निम्त्याउन सक्ने समेत बताए।

महामन्त्री एवं सांसद राजेन्द्र लिङदेनले वर्तमान सरकारले सरकारको अनुभूति दिन नसकेको र कांग्रेस सरकारको गलत क्रियाकलापको भागिदार भएको, प्रतिपक्षको भूमिका निर्वाह गर्न चुकेको भन्दै वैचारिक राजनीतिक रुपले राप्रपा देशको असली प्रतिपक्ष रहेको बताए।

अर्का महामन्त्री एवं नेपालगन्ज उपमहानगरका मेयर डा। धवलशमसेर राणाले हिन्दु राष्ट्र र राजसंस्था नेपालको स्थायित्वको आधार भएको बताउँदै निहित राजनीतिक स्वार्थका लागि सदियौंदेखिको सामाजिक सदभाव र एकता बिथोल्ने प्रयास भइरहेकोमा चिन्ता व्यक्त गरे।

दाङ क्षेत्र नं. ३ को प्रदेशसभा (ख) का उम्मेदवार भुपाल रावतले आफुले बिजय हासिल गरेमा क्षेत्रको विकासमा निस्वार्थ सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा राप्रपा प्रदेश ५ का अध्यक्ष प्रदीप कुमार उदय, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ, पाँच नम्बर प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य लगायतको सहभागिता थियो।