मुख्यमन्त्री पोखरेलद्वारा जिल्ला अस्पताल उद्घाटन  


रुकुमपूर्व ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्ला अस्पतालको उद्घाटन गर्नुभएको छ । सतहत्तरौँ जिल्लाको मान्यता पाएको लामो समयपछि स्वास्थ्यचौकी रहेकै भवनमा जिल्ला अस्पतालको उद्घाटन गरिएको हो ।

मुख्यमन्त्री पोखरेलले स्वास्थ्य उपचार नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभयो । जनताले स्वास्थ्य सेवा सुलभ र सहजरुपमा लिन सकून् भनी सरकारले स्वास्थ्य बीमाको अवधारणा ल्याएको उहाँको भनाइ थियो । “अब स्वास्थ्य बीमामार्फत जनताले सुुलभ र सहजरुपमा स्वास्थ्य सेवा पाउने छन्”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

सो अवसरमा जिल्ला अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले पहिले स्वास्थ्यचौकी रहेको भवनबाटै जिल्ला अस्पतालको सेवा प्रदान गर्न मुस्किल भएको जानकारी गराउनुभयो ।

जिल्ला अस्पतालमा हाल ३१ कर्मचारीको दरबन्दी छ । अस्पताललाई आवश्यक उपकरण प्रदेश सरकार र स्थानीय तहले उपलब्ध गराएको जिसीले बताउनुभयो । अहिले अस्पतालबाट आकस्मिक सेवा, बहिरङ्ग सेवा, प्रसूति सेवा, शव परीक्षणलगायत सेवा प्रदान गरिँदै आएको छ ।

“जिल्ला अस्पतालको डिजिटल एक्सरे त्यसै थन्किएको छ”, उहाँले भन्नुभयो, “भवन अभावकै कारण सञ्चालनमा ल्याउन सकिएको छैन ।” अस्पतालमा ल्याव टेक्निसियन, रेडियोग्राफरलगायत दरबन्दी रिक्त रहेको जिसीले उल्लेख गर्नुभयो ।

सो अवसरमा उहाँले जिल्ला र स्थानीय तहमा एम्बुलेन्स नभएको मुख्यमन्त्री पोखरेललाई जानकारी गराउनुभएको थियो ।

सांसद कमला रोकाले नागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो । जिल्ला अस्पतालका लागि आवश्यक जग्गा गाउँपालिकाले उपलब्ध गराएको छ । गाउँपालिकाले २१ रोपनी जग्गा उपलब्ध गराएको छ ।

झण्डै ३५ रोपनी क्षेत्रफलमा ५० श्ययाको अस्पताल निर्माण गरिनेछ । जिल्ला अस्पतालको भवन रु २७ करोडको लागतमा निर्माण गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले जानकारी पदिनुभयो ।
रासस